काठमाडौँ उपत्यकामा १२ जना हैजा का बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।
तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ ।
यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो ।
उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन हैजा भित्रभित्रै फैलिइसकेको आशंका गर्छन् । त्यसमा सहमत अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘काठमाडौं उपत्यकामा मानिसको जनधनत्व बढी छ । पानीमा दिसाको पाइने जीवाणु भेटिरहेको छ । जुन पानी अन्य मानिसले पनि सेवन गरेका होलान् । जसका कारण संक्रमण भित्र–भित्र फैलिरहेको छ । केही दिनमा आउटब्रेक हुन्छ ।’
के हो हैजा?
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ। सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।
सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा. पुनको भनाइ छ। उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।
हैजाका लक्षणहरू के-के हुन्?
हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ।
“चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्,” डा. पुन भन्छन्।
त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए। अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।
“ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ,” डा. पुनले भने। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।