नेपालमा मात्र हैन, विश्वमानै लागू औषधका प्रयोगकर्ता र कारोवार गर्नेहरूमा युवाहरू रहेका छन् । नेपालमा लागू औषधको कारोवार रोक्न नेपाल प्रहरी लागिरहेको छ । नेपालमा लागू औषध कारोबार गर्ने र प्रयोग गर्ने गरी ६ हजार जनाले जेल जीवन बिताइरहेका छन् । नेपालमा लागू औषध प्रयोगकर्ता ८ प्रतिशत पुगेको तथ्याङ्क नेपाल प्रहरीसँग रहेको छ । यसलाई नियन्त्रण र नियमन गर्न के कस्ता पहलहरू भइरहेका छन् ।
पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारी भन्छन्, ‘हरियो डलर खाएका छन् ,डलरको सिरानी हालेर सुतेका छन् । एक छिन मण्डलामा आउने, नारा लगाउने, जुन संस्थाले डलर दियो त्यसलाई काम देखाउनका लागि फोटो खिच्यो सकियो ।’ आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश:
प्रहरी सेवामा २९ वर्ष दिनुभयो । यहाँलाई धेरै कुराको ज्ञान छ । हामीलाई भनी दिनुस् कि, लागू औषधको नियन्त्रणका लागि नेपाल प्रहरीले कस्ता चुनौतीहरूको सामना गर्नु परेको छ ?
नेपाल प्रहरीले कस्ता चुनौतीहरू सामना गर्नु पर्छ भन्ने हामी सबैलाई थाहा छ । लागू औषधको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको कमी छ । अर्को कुरा उपलब्ध भएको जनशक्ति पनि निकै कम छ । सूचनाको पहुँच स्थापना गर्न पनि नेपाल प्रहरीलाई गाह्रो छ । त्यति हुँदाहुँदै पनि नेपाल प्रहरीले अब्बल रिजल्टहरू दिएको छ । उदाहरणको रुपमा केहीदिन अगाडी एयरपोर्टमा ५१ के.जि हेरोईन समातेको घटनाले पुष्टि गर्दछ ।
अर्को,कुरा ड्रग्स आउने देशहरूमा सुपुर्दगी सन्धि छैन । सुपुर्दगी सन्धि हुन बित्तिकै अपराधीको बारेमा सूचना लिने, उनीहरूलाई समातेर त्यही देशमा बुझाउन सकिन्छ । सुपुर्दगी ऐन हाम्रो देशहरूसँग नभएको कारणले ती देशहरुमा पहुँच पुग्न सकेको छैन् । त्यसैकारण प्रभावकारी काम हुन सकेको छैन। नेपालको सन्दर्भमा हेर्ने हो भने,बेला बेलामा विदेशबाट ड्रग्सआउने गरेको छ । त्यो सूचनाको आधारमा वा नेपालमा पक्राउ परेको व्यक्ति बाट अनुसन्धान गर्दा थप जुन सूचना आउँछ त्यसैको आधारमा नेपाल प्रहरीले कारबाही गरिरहेको छ । भदौ ५ मा र एक वर्षको बिचमा २ वटा ग्रुपलाई (साउथ अफ्रिका र ब्राजिललाई) नेपाल प्रहरीले सूचनाको आधारमा समात्यो त्यो सूचनाको क्राईम प्रोफाइललाई नेपाल प्रहरीले अनुसन्धान गरेर थप ५१ के.जी हेरोईन बरामद गरेको हो । चाल्र्स शोभराजले भनेको सुन्नु भएको होला नि ? यो यथार्थ हो जस्तो लाग्छ । किनकि एयरपोर्टको व्यावस्थापनकोे लापरवाहीका कारणले लागू पदार्थ ठमेलसम्म आइपुग्यो ।
नत कुनै अध्यागमनसँग सूचना छ, नत सरकारी निकायको सूचना राम्रो छ । बिचमा एयरपोर्टमा बायोमेट्रिक चेकजाँच आयो भन्ने पनि सुनियो तर त्यसले राम्रो रिजल्ट दियो जस्तो लाग्दैन । अर्को कुरा, नेपालमा आउने पर्यटकहरू के उद्देश्यले आएका हुन ? कहिले आए ? कहाँ छन् ? के गरिरहेका छन् ? फर्के कि फर्केनन् भन्ने डाटा छैन ।
लागू औषध कारोबारमा अधिकांश विदेशी नागरिक पक्राउ परिरहेका छन् । त्यो पनि एयरपोर्टभन्दा बाहिर, यहाँ कमजोरी कसको ?
प्रहरी कमजोर भएको भए एयरपोर्टबाट निस्केको अपराधी गिरोहलाई ठमेलमा पक्राउन गर्ने थिएन । तालिवानी सरकारमा रहेका सबै ड्रग्स माफियाहरु हुन । यिनीहरूले सत्ता कब्जा गर्नु भन्दा पहिला ड्रग्सको कारोबार गरेर बसेका हुन । अफगानिस्तानमा अफिम र हेरोइन ८५ प्रतिशत उत्पादन हुन्छ, जो विश्वभरमा कारोबार हुने गरेको पाइन्छ । अहिलेको सरकारलाई धेरै राष्ट्रहरूले समर्थन गरेका छैनन् । उनीहरूले ड्रग्स बिक्रीको माध्यमबाट देश सञ्चालन गरेका छन् । अफगानिस्तानको कारण ड्रग्सको व्यापार एक वर्ष अगाडी भन्दा ३ गुणा बढेको छ । भारतकै कुरा गर्दा, त्यहाँ ड्रग्स आउँछ र ड्रग्स उत्पादन गर्ने २ वटा समूह छन् । गोल्डेन ट्रनगल र गोल्डेन क्रयासेन्ट यसमा सात देशहरू छन् । यी सात वटा देशहरूबाट झन् बढी व्यापार हुन्छ । अफगानिस्तानको ड्रग्समा हस्तक्षेप जमाउन र आफ्नो कारोबार बढाउन सात वटा देशहरू बिच हानथाप हुन्छ । बाहिरबाट आउँछ, नेपाल हुँदै भारत जान्छ किनभने नेपालमा यसको खपत धेरै कम छ ।
नेपालमा १ ग्रामको २० हजार भन्दा बढी पर्दैन । त्यस कारण भारतमा जान्छ । ३ वर्ष अगाडि भारतमा हेरोइन मात्र प्रयोग गर्ने युवाको सङ्ख्या करिब करिब ३ लाखको हाराहारीमा थियो । यो बिचमा कति बढ्यो होला तपाई हामी अनुमान गर्न सक्छौँ । यसको ठुलो मार्केट नै भारत हो । नेपाललाई ट्रान्जिट केन्द्र बनाएर जान्छन् ।
नेपाली ड्रग्स माफिया पनि यो गिरोहमा सहभागी छैनन् भनेर म भन्दिन किनभने नेपाली ड्रग्स माफियाको सहयोग बिना नेपाललाई ट्रान्जिट केन्द्र बनाउन कुनै पनि हालतमा सक्दैनन् । यो चुहावट रोकथाम गर्न नेपाल प्रहरीको क्षमताले भ्याएसम्म राम्रो योगदान दिइरहेको छ ।
ड्रग्सको लागि नेपाललाई किन ट्रान्जिट बनाउँछन् ?
ड्रग्सको लागि नेपाललाई किन ट्रान्जिट बनाउँछन् भने यही प्रहरीले पक्राउ गरिहाल्यो भने पनि हाम्रो कानुन कमजोर छ । तर ड्रग्सको कार्यमा संलग्न हुने, उत्पादन गर्ने र बेचबिखन गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने देशहरू पनि छन्, तर हाम्रोमा बढीमा १५ वर्ष जेल सजाय हो ।
नेपालको कानुन हरेक अपराधलाई डिल गर्ने,सजाय गर्ने, अनुसन्धान गर्ने कुरामा असाध्यै कमजोर छ । १५ वर्ष सजाय पाएकाले त्यति नै सजाय काट्दैनन् ५० वा ६० प्रतिशत मात्र सजाय काट्छ ।
यस्ता अपराधमा मृत्युदण्डसम्मको सजाए गर्नुपर्छ भन्ने लागे पनि, संयुक्त राष्ट्रसङ्घको महासन्धिमा हामीले नयाँ कानुन बनाउँदा मृत्युदण्डको सजाय दिन पाइँदैन भनेर युएनमा हस्ताक्षर गरेका छौँ । हामीले
मृत्युदण्डको सजाय दिन सक्दैनौँ । त्यस कारण उनीहरूले नेपाललाई आधार स्थल मान्ने गरेका छन् । यो हिसाबले नेपालको कानुन एकदम कमजोर छ । त्यसैले कानुनलाई सम्बोधन गर्न जरुरी छ । ड्रग्स विरुद्धमा काम गर्ने जुन ब्युरो छ त्यो दयनीय अवस्थामा छ ।
प्रहरीमा राजनीतिक हस्तक्षेपको कुरा पटक पटक उठिरहन्छ । यस्तो हो भने त कार्य सम्पादनमा असर परेको छ होला ?
धेरै असर पार्छ नि । असर तत्काल देखिँदैन तर बिस्तारै देखिँदै जान्छ । मन्त्रीपरिषद्मा मन्त्री नियुक्त गर्दा सिनियर र जुनियरको असन्तुष्टि नेपाली राजनीतिमा हामीले देखेकै हो ।
३० वर्ष म सेवा गर्छु । त्यहाँ भविष्य सुरक्षित छ भनेर यो क्षेत्रलाई चयन गरेर आएको हुन्छ । निजामती सेवा र विभिन्न प्राविधिक क्षेत्र छन् तर युवाहरूको आकर्षणको केन्द्र नेपाल प्रहरी किन त, भन्दा करियर सुरक्षित होस,समयमा मेरो बढुवा होस,पदोन्नति होस् भनेर आउने हो । अब म इमानदार पूर्वक सङ्गठनको नेतृत्व गर्छु भनेर तयार भइसकेको व्यक्तिका अगाडि त्यो ठाउँमा टपक्क टिपेर जुनिएरलाई राखिदिएपछि त्यसको मनोबलमा कति खेलाँची भयो होला ? त्यसैले यो कुरामा सरकारले ध्यान दिनुपर्छ । यसले कार्यसम्पादनमा ठुलो असर पुगेको हुन्छ ।
नेपालमा ड्रग्स सुरक्षा चुनौतीको रूपमा छ । हेडक्वाटरले बेलाबेलामा अपराध सम्बन्धी प्रेस रिलिज गर्छ त्यसमा हेर्नुहोस् जुन घटना घटिरहेको छ त्यसमा केही प्रतिशत योगदान ड्रग्सको पनि छ । ड्रग्समा एउटा रसायन हुन्छ त्यसले व्यक्तिलाई लट्ठ्याउने काम गर्छ आनन्द महसुस गराउँछ शरीरको दुखाई कम गराउँछ । उसले स्वर्गको त्यो जत्तिको आनन्द कैले महशुस नै गर्दैन । त्यो रसायनले यस्तो असर पार्छ की मान्छेको मनस्थिति चेतना सक्रिय हुँदैन त्यस्तो व्यक्तिले ड्रग्स पाएन भने छटपटाउँछ, अपराध गर्छ । घरको भाँडाकुँडा समेत बेच्छन् म आफैले अनुसन्धान गरेको छु । ड्रग्सको धन्दामा लागेको,घर बिग्रिएका हजारौँ केश मैलै प्रहरीमा हुँदा अनुसन्धान गरेको छु । हेड क्वाटरको डाटाले के भन्छ भने ड्रग्स नपाए जस्तोसुकै अपराध गर्न पनि पछि हट्दैनन् ।
ड्रग्स कारोबारले सुरक्षामा पुर्याउने चुनौतीका बारेमा के भन्नुहुन्छ ?
सुरक्षा चुनौती बढाउनुमा ड्रग्स कारोबार गर्नेको पनि ठुलो हात छ । हरियो डलर खाएका छन्,डलरको सिरानी हालेर सुतेका छन् । कुनै विषय आए मात्र बाहिर आउने हो । ड्रग्सको कारणले हत्या भएमा एक छिन मण्डलामा आउने, नारा लगाउने, जुन संस्थाले डलर दियो त्यसलाई काम देखाउनका लागि फोटो खिच्यो सकियो । यस्तो पाराले नेपालमा लागू औषधलाई नियन्त्रण गर्न सकिँदैन ।
चेतना अभिवृद्धि गर्ने कार्यक्रम कसैले गरेको देखिँदैन । यौन हिंसा अपराध र ड्रग्सको कुरालाई नियन्त्रण गर्न तल्लो तहको पाठ्यक्रममा नै विषयवस्तुहरू समावेश गर्नुपर्छ । यस्तो कार्य सरकारले त गर्दैन भने डलर खानेहरूले के गर्लान् ?
नेपाल सरकारले यो कुरामा ध्यान दिनुपर्छ । २९ वर्ष काम गर्दा कुनै पनि जनचेतनामूलक काम गरेको देखिन मैले । नेपालमा ८ देखि १० वटा सुधार केन्द्र छ । तर त्यहाँको अवस्था कारागारको भन्दा दयनीय छ । सुधार हैन त्यहाँ व्यक्ति आपराधिक योजना बनाएर बाहिर आउँछन् । सुधार केन्द्रबाट निस्केर फेरि अपराधमा संलग्न भएको मैले नै देखेको छु । यस्तो सुधार केन्द्र हुनु र नहुनुको कुनै औचित्य छैन ।
खुल्ला सिमाना छ, एयरपोर्टको त समस्या छँदै छ, वायोम्ट्रिक सिस्टममा डाटा अद्यावधिक गर्ने सिस्टम नै छैन । रोहिंगा शरणार्थी काठमाडौँमा आएपछि मात्र नेपाल सरकारले थाहा पाउँछ । जबसम्म सम्पूर्ण हिसाबले सुरक्षा निकायलाई अपडेट गरिँदैन तब सम्म नेपाल ड्रग्सको अखडा बनिरहन्छ ट्रान्जिट त हिजो पनि बनेको थियो आज पनि छ भोलि पनि नहोला भन्न सकिन्न ।
नेपालमा युवाहरू दुव्र्यासनीको शिकार बन्नुमा मुख्य दोषी कसलाई देख्नु हुन्छ ?
एकदम राम्रो कुरा गर्नुभयो । हाम्रो समाजमा अभिभावको निगरानी पटक्कै छैन । तपाईँले आफ्नो बच्चा रोयो, फकाउनका लागि अत्याधुनिक फोनहरू दिनुहुन्छ, त्यसको असर बारे तपाईँले विश्लेषण गर्नुभएको छ ?
आफ्नो बच्चाको दैनिकी नियाल्नु भएको छ छैन ? म त भन्छु कुनै पनि अभिभावकले हेरेकै छैनन् । अहिले तपाई ड्रग्सको बारेमा मलाई प्रश्न गरिरहनु भएको छ । हैन गाँजा भन्नुस् कि अफिम बाट बन्ने हेरोइन भन्नुस् कि कोकीन । यो त एउटा ड्रग्स हो अहिले त तपाईँको कोकीन जस्तो प्रतित हुने डिजिटल प्लेटफर्म छ ।
अहिले डिजिटल मिडिया किन कोकिनको रूपमा छ भने तपाईँको बालबच्चाको मानसिक अवस्था परिपक्व भएको छैन, तपाई वयस्क हुनुभएको छैन, तपाईँसँग फेसबुकमा चार हजार ÷ पाँच हजार साथीहरू छन् । तर तपाईँले त्यो साथीको पृष्ठभूमि केलाएर साथी बनाउनु भएको छ ? ती व्यक्तिहरू कस्ता चरित्रका हुन ? ती व्यक्तिको पारिवारिक पृष्ठभूमि के हो ? अपराधमा संलग्न छन् की छैनन् ? तपाईँले केलाउनु भएको छ ? नकेलाई तपाईँसँग चार हजार पाँच हजार साथी हुन्छन् । यही डिजिटल प्लेटफमले तपाईँलाई दुरुपयोग गरिरहेको छ । विभिन्न श्रोत मार्फत यौन हिंसा गरिरहेको छ । ड्रग्स खान तपाईँलाई यही सामाजिक सञ्जालले सिकाई रहेको छ । पढाई रहेको छ । यसमा अभिभावकको निगरानी छ त ? छैन नि ?
म भन्छु ९० प्रतिशत भन्दा बढीको घरमा मोबाइल छ भने ८५–८७ प्रतिशत मानिस इन्टरनेटसँग जोडिएको छ । ल भन्नुस् हामी इन्टरनेटमा मा कति धेरै माथि पुगिसकेका छौ । नेपालमा एउटा प्रहरी साइबर व्युरो छ उसको अवस्था हेनुस् । प्रविधिको विकास अनुसारको उनीहरूलाई सुविधा छैन, काम कसरी हुन्छ ?
अन्त्यमा, अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अबैध तस्करीविरुद्धको दिवसको अवसर समाजलाई तपाईँको के सन्देश छ ?
तपाई एक जना, कुनै व्यक्ति लक्षित अपराध गर्नुभयो भने एउटा व्यक्तिको मात्र हत्या गर्नुहुन्छ । तर ड्रग्समा फस्नु भयो भने स—परिवारलाई बिस्तारै बिस्तारै मार्नुहुन्छ । त्यसैले गर्दा यो ड्रग्सको लतबाट टाढै बसौँ । ड्रग्स सेवन नगरौँ लागू औषधले कसैको भलो गरेको छैन । नेपालमा अहिले अध्यादेश मार्फत गाँजा खेतीलाई बैध गर्नुपर्छ भन्ने कुरामा बहस भइरहेको छ । यसलाई बैध गर्नुभन्दा पहिला अध्ययन र अनुसन्धान र विश्लेषण गर्न जरुरी छ ।
फेरी यहाँ त गाँजाको व्यापार हाम्रो नेपालमा खपत हुन्न बाहिर जाने हो । यसमा अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई अखाडा बनाउन सक्छ । त्यसैले संसद्मा पेस भएको यो विधेयक माथि विचार पुर्याउनु जरुरी छ । त्यसैले म के भन्छु भने अन्य अपराध गरेर एउटा व्यक्ति मात्रै मर्छ तर लागू औषध सेवनले पुरै घर परिवारलाई बिस्तारै बिस्तारै मारिरहेको हुन्छ । समाजमा यसले एउटा ठुलो अपराधलाई निम्ता दिइरहेको हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने लागू औषध ठुलो चुनौतीको विषय पनि हो । यसमा हामी सबै नागरिकहरू सचेत हुन जरुरी छ ।
श्रोत: एनएनबी