सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेक्रेड हार्ट इङ्लिस स्कुलका बस चालक जबरजस्ती करणी प्रयास आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सेक्रेट हार्ट स्कुलको बस चालक इटहरी–५ का ३६ वर्षीय लालबहादुर गुरुङ रहेको सुनसरी प्रहरीले जनाएको छ।
उनले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय छात्रालाई यौन दुरुपयोग गरेको आरोप छ। आइतबार आफ्नी छोरीमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका थिए।
जाहेरीलगत्तै उनलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले केटिएम दैनिकलाई जानकारी दिए। ‘जबरजस्ती करणी प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको रहेछ, सोहीअनुरूप नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं।’ गुरुङविरुच बाल यौन दुरुपयोगअन्तर्गत मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।