नेपाल प्रहरीका चार महिला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयले बुधबार राति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको थियो । जसमा चारजना महिला पनि एकैपटक डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।
बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । १७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।
गृह मन्त्रालयले गरेको बढुवा सिफारिसअनुसार २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना एकैपटक डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।
बज्राचार्य बढुवा सूचीको ६ नम्बर, चौधरी ९ नम्बर, सिंह १६ र राणा १७ नम्बरमा बढुवा सूचीमा परेका छन् । नेपाल प्रहरीको इतिहासमा चार जना महिला एकसाथ डीआईजीमा बढुवा भएको यो पहिलो पटक हो ।
यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । हालका एआईजी पूजा सिंहपछि एआईजी बन्ने दौडमा उनीहरू चारै जनालाईसमेत अवसर प्राप्त गर्ने बाटो खुलेको छ ।
नेपाल प्रहरीमा ११ वटा दर्जा भएकोमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवौँ दर्जा हो । यसपछि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) गरी ११ वटा दर्जामा हुन्छ ।
राष्ट्रभर एकजना मात्र आईजी रहने व्यवस्था छ ।