मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका छन्।
उनले मंगलबार दिउँसो गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बरको गाडी कार्यालयपरिसरमै तोडफोड गरेका हुन्।
बजेट निर्माणलगायत, विभिन्न समिति बनाउने विषयमा असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष गुणावतीदेवी थारूले बताइन्।
‘गाडी किन तोडफोड भयो भन्ने विषय यकिन छैन,’ उनले भनिन्, ‘अहिले यो विषय छलफल भइरहेको छ।’ उनका अनुसार मंगलबार बजेट निर्माणलगायत अन्य विषयमा छलफल भएको थियो। छलफलका क्रममा असहमति जनाएका ज्योतिले दिउँसोतिर गाडीमा तोडफोड गरेका हुन्।
नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडाअध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद भएको थियो।
अध्यक्ष गच्छदारले पनि छोराले नै गाडीमा तोडफोड गरेको बताएका छन्। जो सुकैले गाडीको सिसा फुटाए पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ।