पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै वायुसेवा कम्पनीहरूले हवाई भाडा वृद्धि गरेका छन् ।
सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १९ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ। अब यी हवाई इन्धनको मूल्य अब क्रमशः प्रतिलिटर १८५ रुपैयाँ र अमेरिकी डलर १ हजार ६ सय ४५ प्रतिलिटर परेको छ।
नेपाल वायुसेवा सञ्चालक संघ (एओएएन)का अनुसार सबैभन्दा कम काठमाडौं-सिमरा १७० रुपैयाँ भाडा बढेको छ। यससँगै काठमाडौंबाट सिमराको भाडा चार हजार १९५ पुगेको छ। सबैभन्दा बढी काठमाडौं-धनगढी ८४० रुपैयाँ बढेको छ। अब काठमाडौंबाट धनगढीको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ। नयाँ हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ।
निगमले इन्धनको मूल्यवृद्धि गरेपछि स्थलमार्गका यातायात व्यवसायीले अन्तरप्रदेशीय यात्रु र मालबाहक यातायातको भाडा ५ दशमलव ३ प्रतिशतले अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म बढाएका छन्।