
नेपाल कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि नेपालमा १६ पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ । यो अवधिमा एकपटक पूर्वाधार करबापत प्रतिलिटर रु १० रुपैयाँ घटाइएको छ भने एकपटक अन्य मूल्यहरू यथावत राखेर हवाई इन्धन आन्तरिकको मात्रै मूल्य बढाइएको छ ।
शेर बहादुर देउवा २०७८ साल असार २९ गते पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । उनी प्रधानमन्त्री हुँदा पेट्रोलको मूल्य लिटरको १२९ रुपैयाँ, डिजेल र मट्टितेलको ११२ रुपैयाँ र खाना पकाउने ग्यास सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार ४२५ थियो । आजदेखि भने पेट्रोलको मूल्य प्रतिलिटर १९९, डिजेल र मट्टितेलको १९२ रुपैयाँ पुगेको छ ।
आयल निगमले प्रत्येक पटक मूल्यवृद्धि गर्दा घाटा बढेकाले मूल्यवृद्धि गर्नुपरेको जनाउँछ तर पेट्रोल ढुवानी गर्नेहरू नाफामा जाने, इन्धन बेच्ने पेट्रोल पम्पहरू नाफामा जाने तर आयल निगम घाटामा कसरी भन्ने आम मानिसहरूको प्रश्नको उत्तर भने निगमले अहिलेसम्म दिन सकेको छैन ।
देउवा प्रधानमन्त्री भएको ११ महिनामा पेट्रोलको मूल्य लिटरमा ७१ रुपैयाँले बढेको छ भने डिजल र पेट्रोलको भाउ ८१ र खाना पकाउने ग्याँस सिलिण्डरको मूल्य ३७५ रुपैयाँले बढेको छ । अर्थात देउवा सरकारले पेट्रोलमा ५५.४६ प्रतिशत, डिजेल र मट्टितेलमा ७२.९७ प्रतिशत, खाना पकाउने ग्याँस सिलिण्डरमा २६.३१ प्रतिशत र हवाई इन्धनमा आन्तरिकमा १२०.२३ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
प्रधानमन्त्री भएको भोलिपल्ट अर्थात २०७८ असार ३० गते देउवाले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाएका थिए । तर स्थानीय निर्वाचन सम्पन्न भएपछि भने सरकारले अचाक्ली रुपमा इन्धनको मूल्य बढाउन थालेको हो । प्रतिपक्ष दलका सासंदहरूले सरकारले चुनावी खर्च उठाउन इन्धनको मूल्यवृद्धि गरेको आरोप लागिरहँदा आइतबार निगमले एकैपटक पेट्रोलमा २१, डिजेल र मट्टितेलमा प्रतिलिटर रु २७ रुपैयाँले वृद्धि गरेको छ ।
स्थानीय चुनाव सकिएको भोलिपल्ट अर्थात जेठ ३१ गते प्रतिलिटर १० रुपैयाँको दरले मूल्य बढाएको निगमले खाना पकाउने ग्याँस सिलिण्डरमा भने प्रतिसिलिण्डर रु २०० का दरले मूल्य बढाएको थियो । त्यसको नौ दिनपछाडि अर्थात जेठ ८ गते पुन मूल्यवृद्धि भएपछि देशव्यापी रुपमा आन्दोलन भयो । त्यही आन्दोलनलाई मत्थर पार्न सरकारले पूर्वाधार कर बापत लिँइदै आएको प्रतिलिटर रु १० रुपैयाँ घटायो ।
यो मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अब देशब्यापी रुपमा आन्दोलन हुने जगजाहेर नै छ ।
हेर्नुहोस् कुन समयमा कति बढ्यो मूल्य ।