कल सेन्टरको माध्यमबाट ठगी गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले असार ३ गते उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा २ जना भारती नागरिक छन् भने अन्य नेपाली रहेका छन्। उनीहरुले काठमाडौंमा बसेर भारतीय नागरिकसँग मिलेर अमेरिकीहरुलाई ठग्दै आएको खुलेको ब्यूरोले जनाएको छ।
उनीहरुले मोबाइल तथा ल्यापटपबाट अनेकौं गलत सूचना पठाएर ह्याक गरी बैंक एकाउन्ट दुरुपयोग गरेर ठग्ने गरेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक निसान खैरे र मनीष तिवारी, काठमाडौंका बिजय श्रेष्ठ, आरस तुलाधर र आमिन खड्का, लमजुङ घर भई हाल काठमाडौं बस्ने करण गुरुङ, भक्तपुरको राधेराधे बस्ने काभ्रेका अनोज लामा, काठमाडौंको कालोपुल बस्ने उदयपुरकी आरूषी राई, बानियाँटार बस्ने नुवाकोटकी युबिना तामाङ छन् ।
त्यस्तैगरी दोलखाकी सपना मग्रान्ती, भक्तपुरको लोकन्थली बस्ने सुर्खेतकी टिका राउत, काठमाडौंको सिफल बस्ने झापाकी सुनिता राउत र काठमाडौंको रानिबारी बस्ने नुवाकोटका सागर श्रेष्ठका रहेका छन् ।
पक्राउ परेका धेरैजसो उक्त कल सेन्टरमा काम गर्ने कर्मचारी हुन् ।