उदयपुरको कटारी नगरपालिकामा १९ वर्षीया एक युवतीमाथि बलात्कारको प्रयास गर्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटारी–१४ लेखानीका २५ वर्षीय नारायण श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
कटारी प्रहरीका डिएसपी मानबहादुर राईका अनुसार शुक्रबार पीडित परिवारले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका उनीमाथि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी राईले बताए।
असार १ गते बुधबार अपराह्न साढे ४ बजेतिर घरमा एक्लै रहेको अवस्थामा २५ वर्षीय नारायण श्रेष्ठले उनीमाथि करणीको प्रयास गरेका हुन्। श्रीमान् र सासूआमा गाई गोठालो गएको मौका पारेर स्थानीय श्रेष्ठले बलात्कारको प्रयास गरेको ती युवतीको भनाइ छ।
वृद्ध उमेरकी सासू र २७ वर्षीय श्रीमान् गोठालो गएको अवस्थामा श्रेष्ठ ती युवतीको टिभी कोठामा छिरेका थिए। ती युवाले पीडित युवती र उनका श्रीमानलाई काका–काकीको नाताले बोलाउने गर्थे। ‘घरमा सिरियल हेरेर बसिरहेकी थिएँ, खाना पकाउन निस्किएका बेला त्यो मान्छे टिभी कोठामा छिरेको रहेछ,’ उनले भनिन्, ‘म दाउरा लिन जाँदा जबरजस्ती टिभी कोठामा तानेर करणीको प्रयास गर्यो। चिच्याएर प्रतिवाद गरेपछि फरार भयो।’
ती दम्पति आफ्नी वृद्धा आमासँग बस्दै आएका थिए। दिउँसो ४ बजेसम्म श्रीमान्–श्रीमती र ७० वर्षकी सासूआमा टिभीमा फिल्म हेरेर घरमै बसिरहेका थिए। ‘४ बजेतिर आनन्दी सिरियल आउने भएपछि म र आमा गोठालो गयौँ,’ पीडितका श्रीमानले भने, ‘त्यो केटोले काका कति समय लाग्छ घर फर्किन भनेर सोध्यो। बेलुकातिर फर्किन्छु भनेर जवाफ दिएँ। त्यसपछि छेलिँदै मेरो घरसम्म पुगेको रहेछ। श्रीमतीलाई पनि काका खोइ भन्दै घरतिर पसेछ। त्यसपछि जबरजस्तीको प्रयास गरेछ।’
प्रतिकार गरेपछि बलात्कृत हुनबाट जोगिएकी श्रीमती भाग्दै गोठालो गएका श्रीमानसमक्ष पुगेकी थिइन् र घटनाबारे सुनाएकी थिइन्। ‘उनी अलि कान सुन्दिनन्,’ पीडितका श्रीमानले भने, ‘उनी धेरै पटक चिच्याइन्, मैले यताबाट जवाफ दिँदा पनि सुनिनन् र फोन गरेँ। फोन उठेन, एकछिनमा कान्लैकान्ला हामफालेर उनी म भएठाउँ आइन् र सबै कुरा सुनाइन्।’
त्यसपछि उनीहरूले गाउँका अगुवाहरूसँग छलफल गरेका थिए। कानुनमा जाने पीडित परिवारको अडानपछि कटारी–१४ का निवर्तमान वडाध्यक्षसमेत रहेका पीडकका भिनाजु कमल श्रेष्ठले उल्टै बालबिवाहको मुद्दा लगाइदिने चेतावनी दिएका थिए।
ती दम्पत्तिले गत वर्षको माघमा मात्र प्रेम विवाह गरेका हुन्। केही वर्षदेखिको प्रेमलाई सफल बनाउने क्रमम ती युवती १८ वर्ष पुगेर १९ वर्ष लाग्नेक्रममा थिइन्। जन्ती गएरै बिहे गरेको बताउँदै ती युवतीले भनिन्, ‘हो, म १८ वर्ष पूरा हुँदै थिएँ। अहिले त्यही विषय उठाएर उल्टै हामीमाथि मुद्दा लगाउने प्रयास भइरहेको छ। अहिले बालविवाहभन्दा पनि ममाथि हुन लागेको दुष्कर्म ठुलो होइन र?’
पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय कटारी पुगेर जाहेरी दिएको छ। ‘शुक्रबार उहाँहरूको किटानी जाहेरी परेको छ,’ कटारी प्रहरीका डिएसपी मानबहादुर राईले भने, ‘जाहेरी लगत्तै फरार रहेका आरोपितलाई पक्राउ गरेका छौँ। उदयपुर जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौँ।’
यस्तै, कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै पीडितलाई न्याय दिने कुरामा कुनै कसर नछोड्ने बताए। आफू अहिले नगरपरिषद्को बैठकमा ब्यस्त रहेको जनाउँदै उनले पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए।
नोट : यसमा प्रयोग गरिएको युवतीको तस्विर pixabay.com बाट लिइएको एक प्रतिनिधि तस्विर मात्र हो ।