प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।
बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने उनको भनाइ छ । । उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए । बैठकमा रावलले भने, ‘हिजो म उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न, लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ? समितिले उहाँप्रति खेद व्यक्त गर्नुपर्छ ।’
समितिले बिहान १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्रीले विहान ८ बजे फोन गरेर समितिमा आउन नसक्ने जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।
‘विवादित विषय र अमेरिका भ्रमणका विषयमा जानकारी लिन निमन्त्रणा गरे पनि उहाँ अनुपस्थित हुनुभयो । उहाँको अनुपस्थितिले समितिको अपमान महसुस भएको छ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री व्यस्त रहेको बताउँदै समितिमा नजाने जानकारी गराएको हो ।
प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् ।
आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको निरौलाको भनाइ रहेको छ ।
यता व्यस्तता देखाउँदै संसदमा जवाफ दिनबाट भागिरहेका देउवाको व्यस्तता विभिन्न कार्यक्रममा बित्ने गरेको छ ।