नेपालको समग्र पर्यटन र पहिचानमा लुम्बिनीको नाम र भूमिका उल्लेखनीय छ । कोभिडका कारणले पर्यटनमा पारेको नकारात्मक प्रभावले सबै पर्यटकीय गन्तव्यहरूमा प्रभाव पारेको छ, बिस्तारै सुधारोन्मुख नेपालको पर्यटनमा अब सुस्तरी एउटा लय आउन थालेको छ । यसरी उकालो लाग्दै गरेको पर्यटनमा लुम्बिनीको ठुलो भूमिका छ ।
अझ भर्खरै लुम्बिनीमा बुद्ध जयन्तीमा आयोजना गरिएको कार्यक्रममा नेपाल र भारतका प्रधानमन्त्रीहरूको उपस्थिति अनि भएको द्विपक्षीय सम्झौता र पर्यटन अभिवृद्धि गर्ने प्रयासहरूले लुम्बिनीमा थप लय ल्याएको हो ।
विसं २०७९ सालको बुद्ध पूर्णिमाका दिन आयोजना गरिएको द्विपक्षीय कार्यक्रम र त्यसको विश्वव्यापी प्रचार र मिडिया अभियान पश्चात् अब लुम्बिनीमा पर्यटनले नयाँ लय पाउन थालेको छ । कोभिड पछि अधिकांश आन्तरिक र केही भारतीय पर्यटकहरूको मात्र उपस्थिति रहेको लुम्बिनीमा अहिले आएर तेस्रो मुलुकका पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै भारतबाट लुम्बिनी आउने पर्यटकहरूको सङ्ख्यामा झनै वृद्धि भएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।
पछिल्लो समयमा बुद्धको जन्मभूमि बारे विवादमा नेपाल भारतको सम्बन्धमा केही चिसोपना आएको थियो । यस पटकको नेपाल भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले स्वयं नै बुद्धको जन्म नेपालमा भएको उद्घोष गरेपछि यस विवादको औपचारिक अन्त्य भएको छ र यसको साक्षी विश्व समुदाय पनि भएका छन् ।
त्यसयता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म) मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् ।
तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो । कोभिडको जोखिम कम हुँदै गएपछि बिस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो । सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए ।
भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ ।
विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्यान्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी गिरावट आएको छ ।
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा चार लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे ।
यी तथ्याङ्कहरू एकातिर छन्, अर्कोतर्फ पछिल्लो समयमा बुद्धको जन्मभूमि बारे विवादमा नेपाल भारतको सम्बन्धमा केही चिसोपना आएको थियो । यस पटकको नेपाल भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले स्वयं नै बुद्धको जन्म नेपालमा भएको उद्घोष गरेपछि यस विवादको औपचारिक अन्त्य भएको छ र यसको साक्षी विश्व समुदाय पनि भएका छन् ।
वास्तवमा नेपाल भारत सम्बन्धलाई चिस्याउने र जनविरोधी एक लहर पैदा गर्ने यस्ता कैयन विषयहरूलाई लुम्बिनीमा आयोजना गरिएका जस्ता धेरै कार्यक्रमहरू आयोजना गरेर चिर्न सकिने कुरालाई यस वर्षको बुद्ध पूर्णिमामा आयोजना गरिएको कार्यक्रमले पुष्टि गरेको छ ।
पर्यटनमा टेवा पुर्याउन द्विपक्षीय साझेदारीका लागि यस वर्ष भएको भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण एउटा कोशेढुगां नै साबित भएको छ ।