करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको छ ।
उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले बताए ।
लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् बेपत्ता भएका थिए ।
विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका उनी गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका थिए ।