काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क फोन गरेर टिपाउन सकिने महानगरले जानकारी दिएको छ ।
कल सेन्टरमा एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने र कलको सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा सुरक्षित रुपमा राखिने जनाइएको छ ।
कार्यक्रममको उद्घाटन गर्दै कामपा प्रमुख बालेन्द्र साहले उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको बताए।
कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन्।
त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ। यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ।