
भारत नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका चिकित्सकहरुले फोक्सो र मुटुसम्बन्धी समस्याका कारण बिरामी चिन्तित हुनुपर्ने समय समाप्त भएको दाबी गरेका छन् ।
उनीहरुले आफ्नो अस्पतालमा फोक्सो र मुटु प्रत्यारोपण एकपछि अर्को गर्दै सफल भइरहेकाले यो सम्बन्धी समस्याबाट ग्रसित बिरामी चिन्तित हुन आवश्यक नभएको दाबी गरेका हुन् ।
काठमाडौँ एक होटलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा. एम.एस कुँवर, कार्डियक इलेक्ट्रोफिजियोलोष्टि र इन्टरभेन्शनल कार्डियोलोजिष्ट, वरिष्ठ सल्लाहाकार डा. वनिता अरोरा, सिनिय कन्सल्टेन्ट कार्डियोथोरासिक एण्ड हार्ट एन्ड लङ ट्रान्सप्लान्ट सर्जन डा. मुकेश गोयलले साझारुपमा यस्तो धारणा राखेका हुन् ।
डा. कुवंरले हालसम्म आफ्नो अस्पतालमा डेढ दशकको अवधिमा ९० जनाको मुटु र १९६ जनाको फोक्सो प्रत्यारोपण भएको जानकारी दिए । ‘जततातै मुटु या फोक्सोको बिरामी बढेका छन् । उपयुक्त उपचार नपाउँदा उनीहरुको अवस्था कमजोर छ । यदि उनीहरुको समयमै प्रत्यारोपण गर्ने हो भने उनीहरुको आयु थपिने छ’, डा.कुँवरले भने । उनले मुटु या फोक्सो प्रत्यारोपण जटिल भएपनि विज्ञान, प्रविधि, आफूहरुको ज्ञान, सिप र अनुभवका कारण सफल भइरहेको बताए ।
तर यस्ता जटिल खाले प्रत्यारोपण गरिसकेपछि भने बिरामीले आफ्नो स्वास्थ्यमा निकै ख्याल गर्न जरुरी रहेको उनको भनाई थियो । ‘विकसित मुुलुकहरुमा दशकौँदेखि लोकप्रिय रहेको फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध छ । विभिन्न मुलुकका बिरामीहरु हाम्रो अस्पताल यो सेवा लिन आउने क्रम बढेको छ । उनीहरुमध्ये कतिपय सेवाका लागि पालो कुरिरहेका छन्’, कुवंरले भने । कार्यक्रममा डा. अरोराले मुटु प्रत्यारोपण पनि जटिल र संवेदनशिल भएको तर यसमा आफूहरुले सफलता हासिल गरिरहेको बताइन् ।
‘कमजोर मुटु भएका बिरामीहरुमा प्रयोग गरिने अर्को विशेष उपचार प्रक्रिया भनेको फिजियोलोजीकल पेसिङ हो, जहाँ मुटुमा विद्युतीय बाइपास गर्न तल्लो चेम्बर लिड राखेर दुबै चेम्बर पेसमेकर प्रयोग गरिन्छ । यसले मुटुको कार्यमा व्यापक सुधार गर्छ । यद्धपि, यी सबै उपकरणहरु प्रशिक्षित हातहरुमा हुनुपर्छ,’ उनले भनिन् । डा. गोयलले फोक्सोको दीर्घकालिन बिरामी भएर बाँच्नु बिरामी र परिवारका लागि निकष्टकर तथा खर्चिलो हुने भएकाले समयमै फोक्सो प्रत्यारोपण गर्न सकेमा दुबै पक्षलाई फाइदा हुनेमा जोड दिएका थिए ।
फोक्सो प्रत्यारोपण पछि बिरामीले गुणस्तरीय जीवनको आनन्द लिन सक्ने बताए । उनले मुटु या फोक्सो प्रत्यारोपणमा नेपालका बिरामीले भारतका बिरामीसरहनै सेवासुविधा पाउने पनि बताए । अपोलो अस्पताल भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । सन् १९९६ जुलाईबाट सेवा दिन थालेको यो अस्पताल दिल्ली सरकार र अपोलो अस्पताल इन्टरप्राइज लिमिटेड बीचको संयुक्त उद्यम हो ।