वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।
तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो ।
मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।
भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा विभिन्न ठाउँमा रथ परिक्रमा गरिरहँदा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मीठो मसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।
सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रूपमा रहेकाले मर्यादित रूपमा यो अवसरलाई मनाउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।
भिडिओ