मोरङको विराटनगर महानगरपालिकामा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर–४ बरगाछीस्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कूलका शिक्षक तेजेन्द्र कर्ण रहेका छन्।
पीडित पक्षले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, मोरङमा उजुरी दिएलगत्तै उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सोही विद्यालयमा अध्ययनरत ११ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनलाई विद्यालयबाटै पक्राउ गरिएको हो।
महिनौँ अघिदेखि शिक्षकको त्यस्तो व्यवहारका कारण आजित भएकी ती बालिकाले घरमा परिवारका सदस्यलाई सुनाएपछि घटना बाहिरिएको हो।
शिक्षक कर्णले पटक–पटक दुर्व्यवहार गरेको आरोप छ।
होमवर्क नगरेको भन्दै सजाय दिने बहानामा शिक्षक कर्णले पटक–पटक संवेदनशील अंगमा छुने, चिमोट्ने गरेको पीडित बालिकाले बताएकी छन्।
स्केलले हातमा पिट्नु भन्दा पनि नमानी शिक्षक कर्णले त्यस्तो व्यवहार गर्ने गरेको उनको भनाइ छ।