रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ।
घटना भएको दुई वर्ष बित्दासमेत पीडित परिवारले न्याय पाउन सकेका छैनन्। सोही घटनाका पीडित परिवारसहित अभियानकर्मी तथा नागरिक अगुवाहरूले मंगलबार माइतीघरमा दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।
भेरी घटनाको २ वर्ष पुगेको सम्झनामा आज काठमाडौंमा नाटक प्रदर्शन गरिएको छ। उक्त नाटकमा भेरी मा बगेका नवराज बिक लगायतको तत्कालीन अबस्थाको बारे चित्रण गरियो ।
बिभिन्न दलित समर्थित, नागरिक अगुवा तथा मानवअधिकारबादी संघ संस्थाले कबिता बाचन समेत गरे ।
०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।
भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बिच भागमा फेला परेको थियो। उनीसँगै गएका लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा र गोविन्द शाही पनि मृत भेटिएका थिए।
जाजरकोटबाट प्रेमिका लिन १९ जना युवासहित चौरजहारी पुगेका नवराजसहितलाई स्थानीयले गरेको आक्रमणमा ६ जनाको निधन भएको थियो ।
घटना भएकै दिन नवराजको शव खोलामा भेटिएको थियो। त्यसको केही दिनमा थप पाँच जना युवाको शव भेटिएको थियो। नवराजकी प्रेमिका भनिएकी युवतीका परिवारको योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो। तर उच्च अदालतले २०७७ असोज २७ मा ती युवतीलाई थुनामुक्त गर्न आदेश दिएको छ।