नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा आज (मंगलबार) एमाले समर्थित अनेरास्ववियूले र राष्ट्रिय युवा संघ नेपालले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
प्रदर्शनलाई अनेरास्ववियु अध्यक्ष सुनिता बराल र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सम्बोधन गरे ।
नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० र खाना पकाउने ग्याँस सिलिन्डरमा प्रतिसिलिन्डर रु २०० का दरले मूल्य बढाएपछि सो को विरोधमा प्रदर्शन गरिएको हो ।
सोमबार साँझ एमाले समर्थित अनेरास्ववियुका विद्यार्थीहरूले त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस प्रदर्शन गरेका थिए ।
आजको प्रदर्शनमा सहभागीहरूले जनभावनाको कदर गर मूल्यवृद्धि खारेज गर, अति बढ्यो महंगी बाँच्नलाई नै गाह्रो भो, गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, ‘चुनाव खर्च उठाउन, पाईँदैन मूल्य बढाउन’, लगाएको नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
राष्ट्रिय युवा संघका प्रत्येक प्लेकार्डमा नेपाल आयल निगमले ११ महिनाको अवधिमा पेट्रोलमा ७८ रुपैयाँ वृद्धि गरेको लेखिएको थियो ।
निगमले आइतबारदेखि लागू नगरेको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको रु १६३ पुगेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर रु १८०० पुगेको छ ।
यसअगाडि वैशाख ३१ गते पनि निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर रु १० का दरले मूल्य बढाएको थियो ।
थप तस्बिरहरू