सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो भन्ने विश्वास दिएका थिए ।
अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई बिश्वासमा पारी ठगी गरेको प्रहरीको भनाई छ ।
उनले नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान देखिएको छ ।
ठगी कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पीडितहरूलाई नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, निजको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो ।
उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।