स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन ।
मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन् ।
मौलापुर नगरप्रमुख शाह एमाले नेता प्रभू शाहको धर्मपत्नी हुन् । उनी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् । अघिल्लो निर्वाचनमा साह ३९१२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गगनदेव साह कानुले ११५९ मत पाएका थिए ।
ईशनाथकी कौशल्या देवी भने लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार थिइन् । अघिल्लो निर्वाचनमा उक्त पालिकामा सामाजिक एकता पार्टीका सतोष कुमार मेहता ५ हजार ७८५ मत ल्याएर निर्वाचित हुँदा देवीले ५ हजार २३७ मत पाएकी थिइन् ।