“हामी प्रदेशको चाहना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल उद्देश्य लिएको लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको समन्वय साथै प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा दोहाको जैदाह बृज नजिकै अवस्थित आभा मञ्जु रेस्टुरेन्टमा २५६६ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइएको छ।
संस्थाका अध्यक्ष श्री बुद्ध पाण्डेको सभापतित्व,संस्थाकै संरक्षक श्री कमलमणि गुरागाईँको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संरक्षक सदस्य श्री क्रान्ति सिंह,के. बि हमाल र अर्जुन प्रसाद भट्टराई, प्रमुख सल्लाहकार श्री ठाकुर कुमार परियार,सल्लाहकारहरू श्री केदारनाथ भुसाल,दीप जङ्ग शाह, वसन्त थापा लगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले हामीले बुद्ध भूमिमा जन्मिएकोले गर्व महसुस गर्ने मात्रै नभई बुद्धले दिएका उपदेशहरू, मूल मन्त्रहरू र बुद्ध दर्शनलाई आफ्नो व्यवहारिक जीवनमा समेत लागु गर्नुपर्नेमा जोड दिएका थिए।
संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि गुरागाईँले बुद्ध कुनै एक धर्म सङ्ग मात्रै सीमित नरही सारा जगतको प्रेरणाको स्रोत रहेको र उनले प्रतिपादन गरेका शान्ति र अहिंसाको मूल मन्त्र अहिलेको अवस्थामा विश्व जगतकै लागि अझै बढी आवश्यक रहेकोले त्यसलाई सबैले अनुसरण गर्नुपर्ने बताए।उनले बुद्ध नेपालमा नभई भारतमा जन्मिएका हुन् भन्ने कुराको भ्रम हटाउनका लागि गैर आवासीय सङ्घ कतारले विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरू गर्न आवश्यक रहेको औँल्याए।त्यसै गरी अर्का वक्ता क्रान्ति सिंहले बुद्धको जन्म,जन्मस्थल उनले प्राप्त गरेका ज्ञान र समस्त मानव जगतले बुद्धको जीवनीबाट अवलम्बन गर्नुपर्ने कुराहरूको बारेमा चर्चा गरेका थिए।
कार्यक्रमका सभापति पाण्डेले प्रदेश बासीहरूको उत्साहजनक उपस्थितिका लागि हार्दिक धन्यवाद प्रकट गर्दै,लामो समयको पर्खाइ पश्चात् लुम्बिनी प्रदेशमा देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सङ्गै जनतामा निकै उत्साह छाएको र स्वदेशबाट विदेश जानकै लागि २/३ दिन अगाडि नै काठमाडौँ जानुपर्ने बाध्यताबाट छुटकारा मिलेको बताए।
साथै उक्त विमानस्थलका लागि परिषद्को निवर्तमान कार्यसमितिबाट निर्णय भएबमोजिम १५ वटा ट्रली प्रदान गरिने कुरा पनि बताए। उक्त विमानस्थल सञ्चालनमा आए सङ्गै मध्यपुर्वी र मध्यपश्चिमका आम नागरिकहरूलाई निकै सहज हुने पनि बताए।
ट्रली खरिदका लागि प्रक्रिया अगाडि बढिसकेको र जेठको अन्तिम या त असार महिनाको पहिलो हप्ता भित्र ट्रली नेपाल पुग्ने कुराको जानकारी संस्थाका प्रमुख सल्लाहकार तथा ट्रली वितरण समितिका संयोजक ठाकुर कुमार परियारले जानकारी दिएका थिए। संस्थाका वरिष्ठ उपाध्यक्ष श्री डिल्लीराम भट्टराईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सहजीकरण परिषद्का महासचिव श्री टेकराज थापाले गरेका थिए।