सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय वानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी हुन्। ‘उहाँ आफू मनोज पाण्डेबाट पीडित भएको भन्दै सम्पर्क गर्नुभएको हो। तर कार्यालयमा आइसक्नु भएको छैन। पीडित पक्षबाट यहाँ फोन सम्पर्क भएपछि हामीले अनुसन्धानका लागि बोलाएका छौं,’ कार्यालय स्रोतले भन्यो।
सौन्दर्य प्रतियोगिताको नाममा युवतीमाति दुर्व्यवहार गरेका पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भुबाट पक्राउ गरिसकेको छ।
बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा प्रतिष्पर्धी एक युवतीले आठ वर्षअघि आफूमाथि जबरजस्ती करणी भएको खुलासा गर्दै भिडियो बयान सार्वजनिक गरेकी छन्।