स्थानीय तह निर्वाचनबाट एक महानगरपालिका र एक उपमहानगरपालिकासहित २५ स्थानीय तहको नेतृत्वदायी भूमिकामा महिलाहरू पुगेका छन् ।
२०७४ सालको निर्वाचनबाट १८ पालिकामा महिलाहरूले नेतृत्व गरेकोमा अहिले सो सङ्ख्या बढेर २५ पुगेको हो । अझै एक पालिकामा निर्वाचन हुनै बाँकी रहेको छ ।
निर्वाचन आयोगले राखेको तथ्याङ्कलाई थप विश्लेषण गर्दा प्रत्येक प्रदेशमा महिलाहरू पालिकाको नेतृत्वदायी भूमिकामा पुगेका छन् । प्रदेश १ र बागमती प्रदेशमा समान ६/६, मधेस प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ गरी जम्मा २५ स्थानीय तहमा महिलाहरूले प्रमुख पदमा निर्वाचित भएका हुन्।
राजनैतिक दल अनुसार हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सर्वाधिक सङ्ख्यामा महिलाहरू प्रमुख पदमा निर्वाचित भएका छन् । एमालेबाट १० जना निर्वाचित हुँदा, नेपाली कांग्रेसबाट ९ जना, माओवादी केन्द्रबाट एक महानगरसहित ४ जना, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट एक/एक जना निर्वाचित भएका हुन् ।
२५ स्थानीय तहमध्ये एक महानगर, एक उपमहानगर सहित १३ वटा नगर र १२ वटा गाउँपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी भएका हुन् ।
भरतपुर महानगरको प्रमुख पदमा निर्वाचित भएकी रेणु दाहाल यसअघि पनि सोही महानगरको प्रमुख थिइन । अहिले प्रमुख पदमा निर्वाचित भएकामध्ये केही महिलाहरू अघिल्लो स्थानीय तहमा सोही पालिकाको उपप्रमुख पदमा थिए ।
नेकपा एकीकृत समाजवादीबाट हेटौँडा उपमहानगरको प्रमुख पदमा निर्वाचित मीना कुमारी लामा, झापाको विर्तामोडमा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएकी पवित्रा देवी महतारा, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख पदमा निर्वाचित विमला राई, यसअगाडि सोही पालिकाको उपप्रमुख थिए ।
सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी गीता चौधरी २०७४ सालको चुनावमा पनि मेयर पदकै उम्मेदवार थिइन् । नेपाली कांग्रेसबाट विजयी भएका मुक्ती नाथ चौधरीले ५ हजार २७९ मत पाउँदा, सामाजिक एकता पार्टीबाट चुनाव लडेकी चौधरीले २ हजार ७७७ मत पाएकी थिइन । चौधरीले अहिले पार्टी परिवर्तन गरेर चुनाव जितेकी हुन् ।
सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेबाट चितवनको माडी नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएकी तारकुमारी काजी महतो यसअगाडि सोही पालिकाको उपप्रमुख थिइन् । उनले १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर सोही पालिकामा काम गरिसकेकी छिन् ।
यी हुन् पालिकाको नेतृत्वदायी भूमिकामा पुगेका महिला नेतृहरू
नोट : जेठ ८ गते ७०९ पालिकाको नतिजा सार्वजनिक हुँदा “७०९ पालिकाको नतिजा आउँदा २२ स्थानीय तहमा महिला प्रमुख” शीर्षकमा प्रकाशित भएको यस समाचारलाई सम्पूर्ण पालिकाको नतिजा सार्वजनिक भएपछि सो अनुसार शीर्षक र समाचार सच्चाइएको हो । सम्पादक