स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् ।
पोखरामा शनिबार दिउँसो सम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले ३०९४९ मतसहित पछ्याइरहेका छन् । प्रमुखमा आचार्य र थापाको मतान्तर तीन हजार ३८७ रहेको छ ।
पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले ३८३५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २३३५ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगर र धरान उपमहानगरमा लौरोले सर्वाधिक मत पाएको भएतापनि पोखरा महानगरमा भने लौरो चुनाव चुह्नले सोचेजस्तो मत पाएको छैन ।
यसैगरी महानगरको उपप्रमुखमा एमालेका मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाएकी छन् । गुरुङले ३५३१२ मत प्राप्त गर्दा कांग्रेसकी कोपिला रानाभाटले ३४८४७ मत ल्याएकी छन् । गणनाको सुरुआतदेखि अग्रता बनाएकी रानाभाट शुक्रबार रातिदेखि गणनामा पछि परेकी हुन् ।
पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।