विराटनगर महानगरपालिको मतगणना जारी छ । कूल ८९ हजार ६७८ मत खसेकोमा अहिलेसम्म ४६ हजार ९३१ मतणना भैसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त मतगणनामा सत्ता गठबन्धनतर्फ उपमेयरमा जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादव नेकपा एमालेकी शिल्पा कार्कीसँग ५१ सय ४९ मतले पछि परेका छन् ।
कार्कीले १२९२७ मत पाउँदा यादवले ७७७८ मत ल्याएका छन् । उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
सोही पदमा राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ३६९९ मत हासिल गरेकी छन् भने माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेको लालटिन चुनाव चिह्नमा २७०४ मत खसेको छ ।
महानगर प्रमुखमा गठबन्धनतर्फ नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता फराकिलो पार्दै गइरहेका छन् ।
कोइरालाले १४९४४ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापाले ११३१२ मत पाएका छन्। उनीहरूबीच ३६ सय ३२ मतको अन्तर रहेको छ । ४५ हजार ७४५ मतणनामा थापा ३५ सय ५२ मतले पछि परेकोमा अहिले कोइरालाले मतान्तर बढाएका हुन् ।
जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी उमेश यादवले ४६८२ मत पाउँदा राप्रपाबाट मेयरका उम्मेदवार बनेका प्रह्लाद साहले ३०२७ मत पाएका छन्।