स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको केराबारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुमन मिरिङचिङ मगर विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार सुमनले नेपाली कांग्रेसका रोहितबहादुर कार्कीमाथि विजयी हासिल गरेका हुन्।
सुमनले रोहितमाथि एक हजार ४२० मतको अन्तरले जित हात पारे। सुमनले ७८१० मत ल्याएर विजयी हात पार्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ६३९० मत ल्याए।
यस्तै, उपप्रमुखमा एमालेकी मनमाया मगर निर्वाचित भइन्। उपप्रमुखमा विजयी मनमायाले ७२६७ मत पाइन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा राईले ६४२८ मत ल्याइन् । मनमाया र शुभद्राको मतान्तर ८३९ छ।
यसअघि २०७४ सालको निर्वाचनमा केराबारीको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा एमाले विजयी बनेको थियो । तर, पाँच वर्षअघि गुमेको प्रमुख पद एमालेले यसपटकको निर्वाचनमा फिर्ता गर्यो । अनि, पाँच वर्षअघि बुबाले चुनाव हारेको ठाउँमा छोराले जिते।
अघिल्लो निर्वाचनमा सुमनका बुबा नवीन थापामगर चुनावी प्रतिस्पर्धामा थिए। तर, उनी कांग्रेसका रोहितबहादुर कार्कीसँगै २८२ मतान्तरले पराजित भए। कार्कीले ५४९९ मत ल्याउँदा थापा मगरले ५२१७ मतमात्रै ल्याउन सके।
यसैले यसपटक नवीन चुनावमा उठेनन्, बरु आफ्ना छोरा सुमनलाई अगाडि सारे । जसमा रोहितमाथि सुमन हाबी भएका हुन्। १० वटा वडा रहेको केराबारीमा कांग्रेस तीनवटामा मात्रै विजयी बन्यो।
नेकपा (माओवादी केन्द्र)ले एक र एमालेले ६ वटामा जित निकाले । केराबारी–६ मा माओवादी, ४, ८ र ९ मा कांग्रेस तथा १, २, ३, ५, ७ र १० मा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन्।