मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले चोरीका सातवटा मोटरसाइकलसहित चोरको गिरोह पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरी मोटरसाईकल चोरी गर्ने मुख्य ५ जना र किनबेच तथा ब्यवस्थापन गर्ने २ जना गरि कुल ७ जनालाई पक्राउ गरेको हो ।
मोटरसाइकल चोरी गर्नेमा मोरङको जहँदा गाँउपालिकाका २० वर्षीय हरिओम मण्डल, वडा नम्बर १ का २० वर्षीय पन्नालाल राजवंशी, सोही वडाका १८ वर्षीय विशाल राजवंशी, कटहरी गाँउपालिका वडा नम्बर २ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर कन्चनबारीका २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो ।
यस्तै, किनबेच तथा व्यवस्थापन गर्ने समूहका धनकुटा साँगुरीगढी गाउँपालिका-९ का ३२ वर्षीय थामबहादुर राई र सोही स्थानका ३५ वर्षीय मनकाजी राई पक्राउ परेका छन्। पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार प्र १–०२–०४७ प ३९२४, को १३ प २७५, बिआर ३ डी ४५०४, प्र.१–०२–०४४ प २५७, को.८ प ६७५ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकल सार्वजनिक गरेको छ। सातमध्ये दुइटा मोटरसाइकल भारतीय नम्बरको भएको प्रहरीले जनाएको छ ।