तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छन् ।
पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
विसं १९६६ भदौ ६ गते जन्मेकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेकी हुन् ।
मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन् । मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेकि थिइन् ।
कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही ह्वीलचेयरमा पुगेका छन् । देशभर छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ ।
आमाको किरिया बसेका तीन दाजुभाइले मुगुको खत्याड–८ का कविराज कार्की दाजुभाइले एक घण्टा उकालो हिँडेर गई मतदान गरेका छन् । यसबाट पनि निर्वाचनको महत्वलाई थप उजागर गरिदिएको छ ।
नेपालले आत्मसात् गरेको सङ्घीयता तीन तहको मान्यतामा आधारित छ । राष्ट्रियस्तरमा सङ्घीयरुपमा नेपाल सरकार, सात प्रदेश सरकार र स्थानीय तहको ७५३ वटा सरकार । यी तीनवटै सरकारलाई संविधानले स्पष्टरुपमा आआफ्ना दायरा र क्षेत्र छुट्याइदिएको छ ।
देशभरका ७५३ स्थानीय तहमा आज एकै चरणमा निर्वाचन भएको हो । कूल छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व पाउँदैछ ।
यसैबीच जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ ।