नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोट हालेका छन्।
उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ३० (मैतिदेबी मन्दिर पूर्व (क) मतदान गरेका हुन् । उनको मतदान केन्द्रमा ८४० जना मतदाता रहेका छन्। अहिले सम्म १४५ मत खसेको उक्त मतदान केन्द्रका मतदान अधिकृत शिशिर पन्थीले जानकारी दिए ।
उनले कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदानपछि प्रतिक्रिया दिँदै कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।
महामन्त्री थापाले भने, ‘हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी विभाजित भएका छन्। त्यसैले हामी पहिलो पार्टी बन्छौँ। ०७४ को निर्वाचनमा थोरै मतले दोस्रो भएका थियौँ।’
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए।