नेपाली राजनीतिकमा उदयमान नाम हो, मञ्जु भण्डारी सुवेदी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट धरान उपमहानगरपालिका प्रमुखकी उम्मेदवार बनेकी ४० वर्षीया मञ्जुलाई नचिन्ने बिरलै होलान् ।
देशभरका ११ वटा उपमहानगरपालिकाका उपमेयरमध्ये मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी भाग्यमानी महिला पनि हुन् ।
स्नातकसम्मको अध्ययन गरेकी भण्डारी स्थानीय तह बुझेकी, प्रदेश र संघसँग राम्रो पहँच राख्ने नेताको रूपमा परिचित छिन् । एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी उनी अहिले धरानको मेयर बन्ने दौडमा छिन् । हाल चुनावी प्रचार–प्रसारको घरदैलो अभियान व्यस्त छिन् ।
‘धरानमा हाम्रो चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रम आक्रामक तरिकाले भएको छ,’ उनी भन्छिन्, ‘वैशाखको यस्तो चर्को गर्मीमा पनि एमालेको पक्षमा हामी उम्मेदवारसँगसँंगै सबै जनता र कार्यकर्ताहरू उत्साहका साथ एक ढिक्का भएर चोकचोक, टोलटोलमा परिचालित हुनुभएको छ । धराने जनतामा उत्साह बढेको छ ।’
यस्तै, उनी धरानमा एमालेले जित्ने आधार धेरै रहेको भए पनि प्रतिपक्षीहरूले आफूमाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लाञ्छना लगाएर कमजोर देखाउने प्रयास गरेको उल्लेख गरिन् । ‘अरूलाई नराम्रो देखाएर आफू राम्रो हुँ भन्नेहरूको धोती खुस्किसकेको छ,’ उनी भन्छिन्,‘उनीहरूको गलत बनावटी आक्षेप धराने जनताले विश्वास गर्नेवाला छैनन् । धराने जनताको मलाई अपार माया छ । पाँच वर्ष उपमेयर भएको बेला धराने जनताका लागि काम गरेको छु । प्रदेश संघसँग समन्वय गरेर अरवौंका योजना धरानमा आएका छन् ।’
२०७४ पछि एमालेको नेतृत्वमा धरानमा केन्द्रीय सरकारबाट ठुलो योजनाहरू आएको बताउँदै उनी कतिपय काम सम्पन्न भएको र केही पाइपलाइनमा रहेको बताउँछिन् । ती सम्पन्न गर्न पनि स्थानीय तहमा एमालेको नेतृत्व आवश्यक रहेको उनको तर्क छ ।
‘एमाले यो देशको मूल प्रवाहको प्रमुख पार्टी हो । प्रदेश र सङ्घको सत्ता सञ्चालन गर्ने पनि यही पार्टी हो । नगरको समग्र विकास गर्न धरानमा एमालेले जित्न जरुरी छ । धरानको विकासको खाकालाई मूर्तरूप दिन सङ्घ एव प्रदेशसहित दातृनिकायको साथ र सहयोग चाहिन्छ,’ उनले भनिन् ।
२०७६ को उपनिर्वाचनमा काङ्ग्रेसका मेयर तिलक राई आएका थिए । त्यसबेला दातृ निकायले धरानको विकास निर्माण गर्न राईसँग सहकार्य गर्न चाहेको नदेखिएको बताउँदै उनी दातृनिकायसँंगै सङ्घ र प्रदेशको स्रोतविना धरानको विकास निर्माण सम्भव नरहेको औँल्याउँछिन् । केन्द्रमा सिधा पहुँच बनाएर र दातृनिकायसँग सहकार्य गरी आर्थिक स्रोत जुटाएर अधुरा रहेका ठूला योजना पूरा गर्न र पहिल्यै डिपिआर बनेका दीर्घकालीन गौरवका योजनाहरू सुरुवात गर्न एमालेले धरानमा जित्न जरुरी रहेको उनको तर्क छ ।
‘दातृनिकायसँग सहकार्य गर्न, सङ्घ र प्रदेशबाट स्रोत जुटाउन म आफू सक्षम छु भन्ने कुरा हो,’ उनी भन्छिन्, ‘उपमेयर पदम लिम्बुसहितको टिमबाट धरानको विकासमा कायपलट हुने छ ।’
यस्तै, उनी खानेपानी आयोजना असफल नभएको भएपनि व्यवस्थापनमा कमजोरी भएको बताउँछिन् । ऐन बनाएर खानेपानी वितरण गर्ने योजना रहेको सुनाउँदै उनी एक वर्षभित्र धरानमा खानेपानी वितरण प्रणालीमा पूर्ण रूपमा सुधार ल्याउने बताउँछिन् । ‘यो मेरो प्रतिवद्धता हो । धरान खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत पानी वितरण गर्न सकिने अवस्था छ । साविक एरियामा अनुगमन समिति बनाएर ४० प्रतिशत चुहावट हुने खानेपानी नियन्त्रण गर्नेछौँ । यो काम ३ देखि ५ महिनाभित्र गर्नेछौँ,’ उनी भन्छिन् ।