उदयपुरमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ फक्टपुरका २६ वर्षीय गणेश राई रहेका छन् ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ बाट सोमबार पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले जानकारी दिए ।
२०७५ साल १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहिताका अनुसार १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका बलात्कृत गर्दा पीडकलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय तोकिएको छ ।