राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र जनजीवीकाका लागि सदियौँदेखि आफ्नो वास्तविक पहिचान कायम गर्न विभिन्न रूपमा निरन्तर संघर्ष गरेता पनि अझै पाउन सकिरहेका छैनन् ।
सत्ता र व्यवस्था परिवर्तनका लागि हामी सधैँ संघर्ष गर्दै आइरहेका छौँ । तर, बिडम्बना भन्नुपर्छ, हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको दशकभन्दा बढी बितिसक्दा पनि राजनीतिक खिचातानीकै कारण अझै देशमा स्थिरता वा जनताको अवस्थामा भने परिवर्तन आउन सकिरहेको छैन ।
हरेक जनता स्वाधीनतासहितको राष्ट्रियता हुनुपर्छ भनेर वर्षौँदेखि राष्ट्रियताका चर्का नारा लगाउँदै आइरहेका छन्, तर देश र जनताको भावना बुझ्ने र बुझाउन सक्ने त्यस्तो व्यक्तित्व र नेतृत्व अझै पाउन सकिरहेका छैनौँ । परिवर्तन सम्भव छ भनेर राष्ट्रका लागि लडाइँ लड्नेहरुले आफ्नो भविष्य सुरक्षित गर्न त सकेका छैनन् भने स्वाधीनको त कुरै छोडौँ ।
कानुनमा आधारभूत शिक्षा निः शुल्क हुनेछ, स्वास्थ्य उपचार निःशुल्क हुनेछ, आफ्नै देशमा रोजगारको ग्यारेन्टी गरिनेछ भनेर संविधानमा लेख्न हजारौँ नागरिक सहिद हुनुपर्यो । पटक-पटक लडाइँ लड्नुपर्यो । हजारौँ सहिद भएर ल्याएको अधिकारलाई कार्यान्वयन गर्न अझै त्योभन्दा ठुलो लडाइँ लड्नुपर्ने अवस्था देखिन्छ । जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि सत्तामा राजादेखि महाराजासम्म पुगे तर, पूरा भएन ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै गर्दा आम जनताहरु मतदान दिने वा नदिने भन्ने विषयमा चर्चा हुन थालेको छ । कतिपयको तर्क छ, जसलाई मत दिए पनि, जुन पार्टीलाई दिए पनि हुने केही होइन, के-का लागि मतदान गर्ने ? यत्रो पटक मतदान गरेर के पायौँ । फेरि तिनै दल र त्यही व्यवस्थालाई किन भोट दिनुपर्यो ? विसं २००४ जेठ ३ गतेको म्युनिसिपलको पहिलो निर्वाचनदेखि गएको निर्वाचनसम्म १४ औँ पटकसम्मको स्थानीय निर्वाचन भएका छन् ।
जनताको जीवन परिवर्तन अझै आएको छैन । परिवर्तनका लागि हामीले पटक-पटक भोट दिई जितायौँ तर, हामीले पाउने नाममा धेरै गुमाउनु पर्यो । हामीले भोट हालेकै कारण विसं २०११ वैशाख १२ गते कोशी सम्झौता भयो, विसं २०१५ साल जनताले भोट हालेकै कारणले विसं २०१६ मंसिर १९ गते नेपाल र भारतबीच असमान र अन्यायपूणर् गण्डक सम्झौता भयो । विसं २०५१ सालमा जनताले भोट दिएर जिताउने नेताले टनकपुर महाकाली जस्ता राष्ट्रघाती सम्झौता गरे ।
माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण ३ जस्ता सम्झौता गरी विदेशीको भिख माग्दै बाँचेका नेतालाई फेरि विसं २०७४ सालमा जनताले भोट दिएकै कारण सुगौली सन्धी पछिको खतरनाक राष्ट्रघाती एमसीसी सम्झौता हुन पुग्यो । तिनै दल र दलका नेतालाई फेरि भोट दिएर राष्ट्रघातीदेखि जनघाती जस्ता घात गर्ने विश्वासघातीलाई आउने चुनावमा हामीले भोट किन दिने ? जनताले अब प्रश्न गर्ने बेला आएको छ ।
नेपालमा एक त रोजगारी पाइँदैन, पाइहाले महिनाभरि काम गरेर दश दिन खान पुग्दैन ठुलो लगानी हामीसँग छैन लगानी भएकाहरुको सुरक्षा छैन, जति लगानी छ, त्यति लगानी लगाएर उत्पादन गरेको उत्पादनले बजार भाउ पाउँदैन बिचैमा बिचौलियाले खाइदिन्छ साँच्चै नेपालको परिस्थिति हेर्ने हो भने नाजुक अवस्था छ । फेरि तिनै दललाई भोट दिई जिताउनु भनेको आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नु हो । बाबु बाजेका पालाका पार्टीहरुले बाटो बिराएकै कारण आज हाम्रो देशका नागरिकले दुःख पाउनुपरेको छ ।
आम नागरिक चिन्तित छन, पीडामा छन् । हरेक युवाहरु आफ्नो भविष्यको खोजीमा सही सत्य बाटोमा भौँतारिरेका छन् । मैले धेरै देखिरहेको छु । युवा साथीहरू आज आफ्नो इच्छा, आवश्यकता पूरा गर्न नसक्दा र समस्यालाई समाधान गर्न नसक्दा कति नागरिकले आत्महत्या गर्नुपर्यो भने कति युवा साथीहरू डिप्रेसनमा गएर जीवन जिउनुपर्ने अवस्था आएको छ । यस्तो अवस्था सिर्जना गर्ने भनेको सत्तामा पुगेकाले गर्दा भएको हो । जनताले गर्दा भएको होइन भन्ने कुरा आम नागरिकले बुझिसकेको कुरा हो । सबै समस्याको जड भनेकै सत्ता र व्यवस्था हो ।
देशभित्र रोजगारको यति धेरै सम्भावना हुँदा पनि काम गर्न विदेशीनुपरेको छ । के नेपाल सम्भावना नै नभएको देश हो त ? त्यसो त होइन नि । विश्वका सुन्दर देशहरूको नाम लिइरहँदा अग्रपंक्तिमा हाम्रो देश नेपाल आउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रै देशमा छ, विश्वका शान्तिका अग्रदूत गौतम बुद्ध हाम्रै देशमा जन्मिए, प्राकृतिक सुन्दरताले भरिपूणर् देश नेपाल हो । नेपाल जडिबुटीको त्यतिकै सम्भावना भएको देश हो । नेपाल मात्र यस्तो देश हो, जहाँ औषधी कुइन्टलमा बेचेर ग्राममा किनेर खान्छौँ । नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आधारित छन्, तर धनियाँदेखि खाद्यान्नसम्म विदेशबाट ल्याएर बाँच्नुपरेको छ ।
नेपालमा माटो र ठाउँ अनुसार सुहाउँदो उत्पादन गर्ने हो भने सम्पूर्ण नागरिकलाई रोजगार दिन सकिन्छ । नेपालको जलस्रोतलाई उत्पादन गर्ने हो भने नेपाली नागरिकलाई बसि-बसि खान पुग्छ । जमीन मुनिको खानी खनिज मात्रै उत्खनन गर्ने हो भने कति छ कति । पर्यटनको त कुरै छाडौँ । सुन्दर देशमध्ये अग्रगामीमा हाम्रै देश आउँछ । स्वर्ग जस्तो देशका नागरिकहरु आज नर्कको जीवन बाँचिरहनुपरेको छ । यहाँ सुन्दर भविष्य कसैले देखेका छैनन् । भविष्य बनाउनकै लागि विदेशै जानुपर्ने बाध्यता आएको छ । यस्तो बाध्यता हामीले नै निम्त्याएका हौँ । जुन दल र व्यवस्थालाई चुनावमा भोट हालेर सत्तामा पुर्यायौँ, त्यसैको परिणाम हो । यति धेरै स्रोत र साधन हुँदा पनि रोजगार हुन नसक्नु सत्ता र व्यवस्थाको कमजोरी हो । आज देशलाई दरिद्र, मगन्ते, विदेशीको दास बनाउने यिनै दल र व्यवस्था हो भनेर जनताले बुझ्न जरुरी छ ।
यस्तै सोच, विचार र व्यवस्थाले गर्दा राजनीतिक अस्थिरताका कारण आज हाम्रो देश विकास हुन सकेको छैन । यसको मुख्य दोषी हामी नागरिक नै हौँ । चुनावमा कसलाई जिताउने, कस्तो व्यक्तिलाई जिताउने, कुन व्यवस्था अनुकूल छ भनेर छुट्याउने अधिकार जनताकै हातमा छ । अब बेलैमा जनताले नबुझे असफल पुष्टि भइसकेका दल र व्यवस्थाको जरो बलियो भएर गाडिने छ । फेरि त्यही धोकेबाजलाई विश्वास गर्नुपर्ने हुन्छ र गलत बाटो हिँड्नेलाई सधैँ साथ दिनुपर्ने हुन्छ । होइन भने असफल पुष्टि भइसकेका दल र व्यवस्थालाई सधैँका लागि उखेलेर फ्याँक्नुपर्ने हुन्छ ।
जसले चुनाव जित्छ, उसैले नेतृत्व गर्ने हो । जसले नेतृत्व गर्दछ, उसैको हातमा देशको भविष्य अथवा हरेक नागरिकको भविष्य उसैको हातमा हुने गर्छ । नेतृत्व कस्तोलाई छनोट गरेका छौँ, कुन व्यवस्थामा बाँचिरहेका छौँ त्यसैमा निर्धारण हुने गर्छ । तर, नेपालमा बिडम्बना के छ भने मन परे पनि मन नपरे पनि खडा भएका उम्मेदवारमध्ये कसैलाई न कसैलाई मतदान गर्नै पर्ने बाध्यता छ ।
मन परेको दल वा उम्मेदवारलाई भोट हाल्नु अधिकार हो भने मन नपरेका दल वा उम्मेदवारलाई मतदान गर्दिन वा उम्मेदवारमध्ये कसैलाई मतदान गर्दिन भन्नु पनि अधिकार हो भन्ने कतिलाई जानकारी नै छैन । तर, नेपालमा मतदान बहिस्कारको अधिकार बञ्चित गरिएको छ । चुनावमा भोट हाल्नेभन्दा नहाल्नेको संख्या धेरै हुन्छ भन्ने डरले होला सायद यस्तो व्यवस्था लागू नगरेको । पञ्चायतकालमा भोट हाल्न मन लागेन भने बहिस्कार गर्ने अधिकार थियो तर, आज गणतन्त्रको कुरा गर्छन् । मतदान बहिष्कारको नीति ल्याउन डराउँछन् ।
हुनत नेपालको अवस्था, परिवेश र परिस्थितिलाई नियालेर हेर्दा नेपालको संसदीय व्यवस्था नै पूणर् असफलताको बाटोमा गएको देखिन्छ । यो व्यवस्थाको अन्त्य गरी प्रत्यक्ष जननिर्वाचित कार्यकारी व्यवस्थामा जानैपर्ने आजको आवश्यकता हो । जसरी वडा र नगरमा जनप्रतिनिधिहरु चुनिए, त्यसैगरी प्रधानमन्त्री पनि जनताले प्रत्यक्ष चुन्न पाउने अधिकार हुन जरुरी छ । अनि मात्र देश र जनताले चाहे जस्तो हुन्छ । होइन भने त्यही असफल पुष्टि भएको व्यवस्था खोज्नु भनेको आगोमा घिउ थप्नु मात्र हो ।
जुन दल र व्यवस्थाले गर्दा आज जनताले धोका पाउनुपरेको छ, जसले गर्दा आज यो अवस्थामा जीवन जिउनुपरेको छ, उसलाई चाहिँ हामी महान् सम्झिने जसको गल्ती नै छैन, उप्रति शत्रु सम्झी सम्बन्ध नै विच्छेद गराउने जुन प्रवृत्ति छ, यसको अन्त्य गर्न जरुरी छ । जनताका आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी राज्य सत्ताको हो, जनताको होइन । ५१५ सरकारको दायित्व हो भने ४९५ जनताको कर्तव्य हो । जनता र सरकार मिलेर असल जीवन जिउनुपर्नेमा नेपालमा जनतालाई सधैँ लुटी खाने सरकार मात्र बन्यो । संसदीय व्यवस्थाले जनताको अपेक्षित परिणाम दिन नसक्नु नै मुख्य कारण हो । आज आम नागरिक लोकतन्त्रप्रति अविश्वास र आशंका पैदा हुन थालेको छ । नेपालमा लोकतन्त्र विकृति र विसंगतिभन्दा माथि उठ्न नसक्नु, दुई तिहाइको बहुमत पाउँदा नि काम गर्न नसक्नु दल र व्यवस्थाले जनतामाथि पटक-पटक अन्याय गरेकै हुन् ।
जनताले शिक्षा निःशुल्क चाहेका थिए, स्वास्थ्य उपचार निःशुल्क चाहेका थिए, देशभित्रै योग्यता, क्षमता, कला र सीप अनुसारको रोजगारीसहित वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण चाहेका थिए । यही पाउन पटक-पटक लडाइँ लडे पनि जनताले । तर, चाहेजस्तो अझै पाउन सकेका छैनन् ।
पटक-पटक धोका दिने राष्ट्रघाती काम गर्ने दल र व्यवस्थाका पछि फेरि साथ दिनु भनेको फेरि तिनैलाई ठगेर खाउ भन्नु हो । ठगेर खान पल्केकाहरु फेरि यो स्थानीय निर्वाचनमा विभिन्न सपनाहरु बाँड्दै हिँडेका छन् । एक्लै जनतासँग जान आँट नभएर गठबन्धन बनाएर लाज मानि-मानी भोट मागिरहेका छन् । अघि मतलब नगर्ने नेताहरू अहिले खोजीखोजी जनताको घरमा आएर हात जोडिरहेका छन् । यस्ता झुटा आश्वासन सुन्दा, सुन्दा हाम्रा बाजेका दिन गए, बाबुका दिन गए, अहिले हामीलाई उल्लु बनाउँदै छन् । जुन पार्टीले धेरै धोका दियो, उसैलाई फेरि अत्यधिक बहुमतले जिताएर सिंहदरवारको सिंहासनमा विराजमान गराउन ठगहरुको झुण्ड गाउँघरमा हिजोआज निस्किने गरेका छन् ।
जसले भोटको कदर गर्दैन, जसले जनताको अवस्था र परिस्थिति बुझ्दैन, त्यस्ता दल र व्यवस्थालाई जनताले बहिष्कार गर्नुपर्छ । त्यस्ता धोकेबाजको बानी, व्यवहार र चरित्र मलाई मात्र होइन, जन-जनलाई थाहा छ । यिनीहरुले हिजो के गरेका थिए, आज के गरिरहेका छन् र भोलि के गर्नेछन् । अब फेरि मलाई भोट देऊ भनेर आउन लाज मानेर गलत बाटो हिँडेको महसुस गर्नेछन् भनेको लाज नमानी भोट माग्दै हिँडेका छन् । हुनत इज्जत हुनेलाई पो लाज लाग्छ इज्जतै नहुनेलाई के-को लाज । राजनीतिक पात्र फेरिए पनि प्रवृत्ति भने फेरिएको छैन ।
कसैले भन्ने गरेका छन्, हाम्रालाई होइन राम्रालाई साथ दिनुपर्छ भनेर म भन्छु हाम्रा हुन् वा राम्रा जुनसुकै पनि हिँडेको बाटो एउटै हो भने गन्तव्य पनि एउटै हो । हाम्रा गए गलत ठाउँ पुग्ने, राम्रा गए सही ठाउँ पुग्ने भन्ने हुँदैन । हामी हिँडेका बाटो नै गलत छ । यो गलत बाटो हिँड्ने जो कोहीलाई साथ दिनु भनेको फेरि धोका पाउनु हो । असफल संसदीय व्यवस्थाको अन्त्य गरी प्रत्यक्ष जननिर्वाचित कार्यकारीको व्यवस्था लागू गर्नुपर्छ । विदेशी विचार होइन, स्वदेशी नेपाली पनलाई जोगाउने विचारको विकास अब आफ्नै माटोबाट गर्नुपर्छ । शिक्षा, स्वास्थ्य निःशुल्क, स्वदेशमै रोजगारको ग्यारेन्टीसहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र निर्माणका लागि यो असफल संसदीय व्यवस्था फाल्नु आवश्यक छ । जबसम्म गलत बाटो हिँड्ने दल र व्यवस्था सही बाटो हिँड्दैनन्, तबसम्म जनताले भोट हाल्नुहँुदैन । भ्रष्ट र दलाल विदेशी एजेन्टलाई मतदान बहिष्कार गरौँ । भ्रष्ट नेता, असफल व्यवस्था चुन्ने कि सही बाटो अघि बढ्ने जिम्मा जनताकै हो ।