सत्ता गठबन्धन निकट विभिन्न पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन उम्मेदवारका पक्षमा मत मागेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सानो भूलले फेरि देश द्वन्द्व र अस्थिरताको भुमरी जान सक्ने चेतावनी दिँदै संगठनहरुले गठबन्धनको पक्षमा मत मागेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने ? तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउने हामी अपिल गर्दछौँ ।’
विज्ञप्तिमा प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलको हस्ताक्षर छ ।
पत्रकार नै विरोधमा
आफू आबद्ध नेपाल प्रेस युनियनसहित केही पत्रकार संस्थाहरुले संयुक्तरूपमा जारी गरेको वक्तव्यमा काठमाडौं शाखाका पूर्व अध्यक्ष नकुल अर्यालले आपत्ति जनाएका छन् ।
अर्यालले सामाजिक सञ्जाल मार्फत “स्वतन्त्र र निष्पक्ष निर्वाचनमा विवेकसम्मत ढंगले नागरिकले गाेप्य मतदान गर्ने अधिकार” काे अपमान हुनेगरी “अमुक पार्टी वा गठबन्धनलाई नजिताए देश द्वन्द्वकाे भूमरीमा जानसक्ने भनी” दिएको सन्देशप्रति आफ्नो गम्भीर आपत्ति भएको जनाएका छन् ।
श्रमजीवी पत्रकारकाे पेशागत हकहित र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाकाे भन्दा अमुक नेता र पार्टीको पक्षमा उभिने निर्णय नेपाल प्रेस युनियनको कुनै वैधानिक संरचनाबाट नभएकाेले यस्ता हर्कतकाे पछाडि नलागी विवेकसम्मत ढंगले मतदानकाे लाेकतान्त्रिक अधिकार प्रयाेग गर्न उनले सबैमा अनुरोध समेत गरेका छन् ।
केटिएम दैनिकसँगको कुराकानीमा उनले भने, ‘हामी प्रेस युनियलाई पत्रकारहरुकाे संस्था बनाउन चाहन्छाै । प्रेस युनियनको कुनै पनि वैधानिक संरचनाबाट यस्तो निर्णय भएको छैन । याे पत्रकार आचारसंहिताकाे पनि बर्खिलाप छ । याे निर्णय विरुद्ध प्रेस युनियनका पत्रकारहरुकाे विस्तारित बैठक आइतबार बसेर उचित निर्णय लिन्छाै ।’