हवाई सुरक्षामा पर्याप्त चासो नदेखाएको, हवाई नीति पालना नगरेको भन्दै नेपाल एयरलाइन्सभित्र खैलाबैला मच्चिन थालेको छ । देश बाहिरको उडानमा यस्ता प्रश्न उठ्दा पनि व्यवस्थापनले वेवास्ता गरेको भन्दै कर्मचारीहरु असतुष्ट बनेका छन् ।
हालै मात्र साउदीको रियादमा उडान सुरु भएपनि नेपाल एयरलाइन्सले क्याविन क्रु संख्या घटाएको, मध्यराति काठमाडौं–रियाद दुवैतर्फ उही जनशक्तिले काम गर्दा सेफ्टीको पक्षलाई वेवास्ता गरेको, अत्यधिक थकान हुने विषयलाई ख्याल नगरेको लगायत विषय उठाउदै कर्मचारीले निवेदन दिएका छन् ।
बाहिरी सबै उडानमा यस्तै समस्या देखिएको छ । तर, व्यवस्थापनले भने खर्च घटाउने नाममा सेफ्टीको महत्वपूर्ण विषयलाई वेवास्ता गरेको छ । यो विषयमा साउदीको आधिकारिक हवाई उड्ययन प्राधिकरणमा वेनामी उजुरी समेत पुगेको छ ।
नेपाल एयलायन्सको व्यवस्थापनले यति गम्भीर विषयलाई सल्ट्याउनुको साटो पुरै कर्मचारीलाई छानवीन गर्ने, जागिरबाट हटाउने भन्दै धम्की दिएको स्रोतले जनाएको छ ।
‘फ्ल्इाट सेफ्टी डिपार्टमेन्ट’को जिम्मेवारी पाएका पाइलट योगेश हिराचनले भने यो विषय सुल्झाउन पहल गर्नुको साटो धम्कीको भाषा बोल्न थालेका छन् ।
लामो यात्रा त्यो पनि दुवैतर्फ एकै सिफ्टका क्याविन क्रु मात्रले डिउटी गर्दा सेफ्टीको पक्षलाई वेवास्ता गरेको मानिन्छ । जुन हवाई सुरक्षाको मूल्य मान्यता भित्र नपर्ने भन्दै कर्मचारीहरुले नेपाल एयरलाइन्स र हवाई उड्ययन प्राधिकरण (क्यान)मा समेत कुरा पुर्याएका थिए ।
वेनामी उजुरी परेको विषयलाई क्याप्टेन हिराचनले भने लिखित रुपमै सबै क्याविन क्रुको जागिर खाने धम्की दिएपछि सबै आश्चर्यचकितमा परेका थिए ।
हवाइसेवामा यस्ता गुनासो उठ्नसाथ समाधानतिर नलागेर उल्टै थर्काउने, सुधार गर्नतिर नलागेको भन्दै कर्मचारीहरुको गुनासो बढेको छ । निगमका अध्यक्ष युवराज अधिकारीलाई यसअघि नै कर्मचारीहरुले यस्ता समस्या समाधान गर्न लिखित मागपत्रै बुझाएका थिए । अधिकारीले हुन्छ भन्दै टार्दै गर्दा यो विषय बाहिर पुगेको हो ।
खर्च कटौतीका नाममा अधिकारीले नै अन्तर्राष्ट्रिय उडानमा पहिले दुई सिफ्टले काम गर्दै आएकोमा आधा घटाएका थिए । तुलनात्मक रुपमा कम सेवा रहेको हिमालयन एअरलाइन्सको सिको गर्दै यस्तो नियम ल्याइएको, यसले उडानलाई समेत प्रभावित पारेको र हवाईसुरक्षा नीति भन्दा बाहिर रहेर काम भएको छ ।
त्यसैपनि नेपालको क्यानलाई ईयुले सेफ्टीकै प्रश्न उठाएर कालोसूचीमा राखेको छ । त्यसमा के गर्दा सुधार हुन्छ भन्नेतिर नलागि उल्टै समस्या थप्दा कालोसूचीबाट कसरी हटाउन सकिन्छ भनी कर्मचारीहरुले प्रश्न उठाएका छन् ।
वेनामी उजुरीलाई लिएर सबैलाई थर्काउने क्याप्टेन हिराचनले हालसालै नियमविपरित विमानभित्र भएका कामको छानवीन भने रोकेका छन् ।
केही अघि क्याप्टेन अर्विनराज पहाडीले काठमाडौं जहाज ल्याण्ड गर्नेबेला विमान परिचारिकालाई ककपिटभित्रै राखेको विषय गम्भीर रुपमा व्यवस्थापनसामू पुगेको थियो । ढोकाको मुख्य जिम्मेवारी हुने विमान परिचारिकालाई स्थापित मान्यता बाहिर गई ककपिट भित्र राख्ने जस्ता काम हुँदा व्यवस्थापन मौन बसेको छ । जायज कुरा उठ्दा थर्काउने, भएका गल्ती ढाकछोप गर्ने प्रवृत्तिले नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउला ? भन्ने प्रश्न उठ्न थालेको छ ।