
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यही बुधबार पुल्चोकबाट रथ यात्रा शुरू हुनेछ । रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो ।
रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ ।
सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।
जनश्रुतिअनुसार लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए ।
यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो । त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथचक्र -ललित ज्यापु)ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए ।
ऐतिहासिक भनाइअनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो । जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो ।
रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।
तस्बिरहरू