नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीको हालत खराब हुने बताएका छन् ।
माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दलदलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
‘एमाले अध्यक्ष केपी ओलीको असली रूप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैँ भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ,’ दाहालले भने । यस्तै ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको पनि उनको आरोप थियो ।
दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरूबीच चुनावको तालमेल हुने पनि दाबी गरेका थिए । यो निर्वाचन माओवादीका लागि ठुलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए । ‘हामीले निर्णय गर्छौँ ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै (आइतबार) केन्द्रमा गठबन्धनको निर्णय आउँछ,’ दाहालले भने ‘अरू तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ ।
त्यसमा तपाईँहरू ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,’ उनले भनेका छन् ।