पार्टी, सिद्धान्त, तेरो, मेरो आज यो सब छोडी, योग्यलाई भोट गरौँ लोभ-लालच तिर न मोडी ।
न मारौँ स्वाभिमानलाई न बिकौँ मासु भातमा, न बिर्सौँ एक भोटको कत्रो शक्ति छ हाम्रो हातमा ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।
आऊ साथीहरू सबै मिली सहयोग गरौँ, क्षमताअनुसार शिक्षा र प्रविधिको राम्रो प्रयोग गरौँ ।
गाऊँ का अशिक्षित जनताहरूमा चेतना जगाऔँ, भ्रष्ट र बेइमान झोलेहरूलाई परै बाट भगाऔँ ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।
एक भोटले सरकार बन्छ, एकै भोटले ढल्छ पनि, राम्रो लिडर छान्न सके विकासको आगो बल्छ अनि ।
त्यसैले हेक्का रहोस् भोट न जाओस् व्यर्थ, व्यर्थ गए मत हाम्रो, मतदानको केही रहेन अर्थ ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।
मासु-भात र पैसा लिँदा काम्नु पर्छ हात हाम्रो, आफैसँग गद्दारी गर्ने कदापि होइन जात हाम्रो ।
लिऊँ बुद्धिमानी निर्णय ‘सक्षम’ लिडर छान्ने, होस् ‘शिक्षित र इमानदार’ हाम्रा पिर मर्का नि जान्ने ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।
सही लिडर छान्न नसके लगाम गलत हातमा जान्छ, बेइमान र भ्रष्टाचारीले अनि देश लुटी लुटी खान्छ ।
राष्ट्र सेवा सर्वोपरि राख्नेलाई हामीले छान्नु पर्छ, बेइमान र भ्रष्टाचारीलाई मतदानको लात हान्नु पर्छ ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।
बलियो लोकतन्त्रको लागि सबैले भोट गरौँ, यो पाली हाम्रोलाई होइन राम्रोलाई छान्ने अठोट गरौँ ।
बिना डर त्रास र लोभको मतदान गरौँ, स्वाभिमानी नागरिक बनेर लोकतन्त्रको सम्मान गरौँ ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।
भोट न गरी तटस्थ बस्नु अयोग्यलाई जिताउनु हो, आफ्नै खुट्टामा बन्चरो हानेर पछि पछुताउनु हो ।
विचलित नभई आफ्नो अधिकारको प्रयोग गरौँ, पाँच वर्षमा एक चोटि आउने समयको सदुपयोग गरौँ ।
यो पालीको चुनावलाई अलि भिन्न बनाऔँ, मनमा शिक्षित र योग्य ‘लिडर’को चिन्ह बनाऔँ ।