आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ ।
थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये ।
हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ । ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको कञ्चनपुरका तेजबहादुर शाह बताउँछन् । उनी भन्छन्, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । धान कुटने कार्य महिलाले मात्रै गर्दथे । हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ ।” मिलमा ल्याउन लैजानमात्रै समय लाग्ने गरेको छ ।
ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुटनु पर्दथ्यो । एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनुपर्दथ्यो ।”
दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उहाँको भनाइ छ ।
ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भने, “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”
ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको अनुभव रहेको छ । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताइ । उहाँका अनुसार ढिकी कुट्नकै लागि सासुले बुहारीमा गीतमै सवाल–जफावसमेत हुने गर्दथे ।