२०७० साउनदेखि २०७८ असारसम्मको ८ वर्षको अवधिमा प्रहरीमा ८९ हजार ९९ वटा घरेलु हिंसाका घटनाहरू दर्ता भएको देखिन्छ ।
नेपाल प्रहरीबाट उपलब्ध भएको तथ्याङ्कअनुसार यो आठ वर्षको अवधिमा आर्थिक वर्ष ०७६-७७ बाहेक अन्य वर्षहरूमा अघिल्लो वर्षको तुलनामा घटनाहरू बढिरहेका छन् । प्रत्येक वर्ष २० देखि २५ प्रतिशतका दरले घरेलु हिंसाका घटनाहरू बढिरहेको देखिन्छ ।
घटना १ :
माघ २९ गते, पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरे । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ घर भई कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका थिए । उनीहरूबीच पटकपटक झगडा भए पनि सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रको आग्रहमा सँगै बस्दै आएका थिए ।
घटना २
असार ४ गते दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरे । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सामान्य घरायसी विवादका कारण मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।
घटना ३ :
गत जेठ २५ गते सिरहामा गर्भवती महिलालाई आफ्नै श्रीमानले आगो लगाए । सिरहाको धनगढीमाई नगरपालिका–३ हनुमाननगरमा गर्भवती महिलालाई जलाएर हत्या हत्या गरेको आरोपमा प्रहरीले उनका पति पक्राउ परे । जेठ २१ गते राति दीपेन्द्र चौधरीले आफ्नै गर्भवती पत्नी ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर पैसा नदिँदा उनले पूजामाथि पेट्रोल खन्याएर आगो लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । पूजाको मृत्युसँगै उनको गर्भमा रहेको पाँच महिनाको शिशुको यो संसारमा आउन नपाउँदै मृत्यु भयो ।
घटना ४
कात्तिक २३ गते धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छोरा जन्माउन नसकेको भन्दै परिवारको सहयोगमा श्रीमतीको हत्या गरेको खबर सार्वजनिक भयो । सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो । १३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दाइजोको विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको महिलाको माइती पक्षले प्रहरीलाई बताएको थियो । पीडकले अहिले सजाय काटिरहेका छन् ।
घटना ५
असार १९ गते ओछ्यानमा निदाइरहेकी महिला बीभत्स अवस्थामा मृत भेटिइन् । बेलबारी नगरपालिका–७ बाहुनीकी ४८ वर्षीया सीता घिमिरेको हत्या आफ्नै पति ५४ वर्षीय अम्बिका घिमिरेले गरेको प्रहरीले पुष्टि गर्यो । अम्बिकाले काठको मुङ्ग्रोले देब्रे कञ्चटमा पटक–पटक प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको थियो । अम्बिकाले सुतेको ओछ्यानबाट ब्युँझिन नपाउँदै देब्रे कञ्चटमा चार–पाँच पटक मुङ्ग्रोले प्रहार गरेर श्रीमती सीताको हत्या गरेको खुलेको थियो ।
घटना ६
यहि फाल्गुन २२ गते साँझ भक्तपुरमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले प्रहार गरेको एसिडबाट ६० वर्षीया महिला घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय पीडित महिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
यी माथि उल्लेख गरेका घटनाहरू सबै २०७८ सालमा भएका हुन् । केटिएम दैनिकमा प्रकाशित भएका महिला हिंसासम्बन्धी समाचाहरूमध्ये केही प्रतिनिधिमूलक उदाहरणहरू माथि प्रस्तुत गरिएका हुन् ।
नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट प्राप्त भएको विगत आठ वर्षको तथ्याङ्क केलाउने हो भने पछिल्ला वर्षहरूमा घरेलु हिंसाका घटनाहरू प्रहरीमा पुग्ने क्रम बढिरहेको छ ।
तथ्याङ्कले पछिल्ला पाँच आर्थिक वर्षमा प्रहरीमा पुगेका घरेलु हिंसाका घटना वार्षिक रूपमा १० हजार माथि रहेको देखाउँछ । यसले आफूमा भएको हिंसाको उजुरी गर्नेहरूको सङ्ख्या बढेको, प्रहरीमा महिला शेल भएपछि उजुरी गर्न सहज भएको र महिलाहरूमा शिक्षा र जनचेतनाको विकास वृद्धि भएको पनि देखाउँछ ।
नेपालको कानुनले घरेलु हिंसालाई दण्डनीय मानेर यस्तो हिंसा गर्नेलाई दण्ड सजायको व्यवस्था गरेसँगै प्रहरीमा उजुरी पर्ने सङ्ख्या बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ साल वैशाख १४ गतेबाट पारित भई लागू भइसकेको छ भने घरेलु हिंसा (कसुर र सजाय) नियमावली २०६७ समेत लागू भइसकेको छ । त्यसपछि हिंसाका उजुरीहरू प्रहरीमा पुग्न थालेका छन् ।
घरेलु हिंसाबाट पीडितले प्रहरी कार्यालय, स्थानीय निकाय (पालिका/वडा कार्यालय), राष्ट्रिय महिला आयोग, अदालतमा उजुरी दिन सक्छन् । तर यहाँ हामीले प्रहरीमा परेका उजुरीहरूलाई केलाउने प्रयास गरेका छौँ ।
आर्थिक वर्ष ०६९-७० सम्म दुई हजारभन्दा कम सङ्ख्यामा उजुरी पर्दै आइरहेकोमा त्यसपछिको वर्षदेखि उजुरीको ग्राफले उचाइ लिएको देखिन्छ । आव ०७०-७१ मा अघिल्लो वर्षको तुलनामा घरेलु हिंसाका घटना २८० प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ ।
अहिलेसम्मको तथ्याङ्कमा ०७५-०७६ मा सबैभन्दा बढी घरेलु हिंसाका घटनामा प्रहरीकोमा दर्ता हुन पुगेका छन् । उक्त आर्थिक वर्षमा १४ हजार सात सय ७४ वटा घटना दर्ता भएकोमा आ.व ०७६-७७ एघार हजार सात सय ३८ र अघिल्लो आव (०७७-७८) मा चौध हजार दुई सय ३२ घरेलु हिंसाका घटनाहरू प्रहरीकोमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७०-७१ देखि उकालो लाग्न थालेका घटनाहरूको सङ्ख्या ६ वर्षसम्म उकालो नै लागेतापनि त्यसपछिको एक वर्षक भने घटेको देखिन्छ । (हे. माथिको ग्राफ)
प्रदेश १ मा डेढ गुणाले बढे घरेलु हिंसाका उजुरी
विगत दुई वर्षको तथ्याङ्कलाई प्रदेशगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी घरेलु हिंसाका घटना मधेस प्रदेशमा भएको देखिन्छ । आव ०७६-७७ मा त्यहाँ रहेका आठ जिल्लामा ३ हजार ५२९ वटा घरेलु हिंसाका घटना प्रहरीकोमा दर्ता भएकोमा आव ०७७-७८ मा उक्त सङ्ख्या बढेको देखिन्छ । पछिल्लो आवमा त्यहाँ तीन हजार पाँच सय ५६ घटना दर्ता भएका छन् । जुन अघिल्लो आवको तुलनामा सात सय ७२ ले बढी हो ।
सबै जिल्लाका मानिसहरू बसोबास गर्ने काठमाडौँ उपत्यकामा मधेस प्रदेशपछि धेरै घटनाहरू दर्ता हुने गर्दछन् । चेतनाको स्तर विकास भएर पनि होला काठमाडौँ उपत्यकामा घरेलु हिंसाका घटना बढी दर्ता हुने गरेको पाइएका हुन् । आव ०७६-७७ मा यहाँ दुई हजार चार सय ५९ वटा घरेलु हिंसाका उजुरीहरू दर्ता भएकोमा आव ०७७-७८ मा उक्त सङ्ख्या बढेको देखिन्छ । पछिल्लो आवमा त्यहाँ दुई हजार सात सय ४५ घटना दर्ता भएका छन् । जुन अघिल्लो आवको तुलनामा दुई सय ८६ ले बढी हो ।
यो दुई वर्षमा सबै प्रदेशहरूमा घरेलु हिंसाका घटनाहरू वृद्धि भइरहेका छन् । संयोग नै मान्नुपर्छ बागमती प्रदेशमा (काठमाडौँ उपत्यका बाहेक) यी दुई वर्षमा परेका उजुरीको सङ्ख्या बराबर छ ।
प्रहरीको तथ्याङ्क भन्छ, ‘दैनिक ४७ महिलाहरू घरेलु हिंसामा पर्छन्’
दुई वर्षको तथ्याङ्क मात्रै विश्लेषण गर्ने हो भने प्रदेश १ मा अघिल्लो वर्षको तुलनामा उजुरीको सङ्ख्या डेढ गुणाले बढेको देखिन्छ । आव ०७६-७७ मा प्रदेश १ को १४ जिल्लामा पाँच सय आठ वटा उजुरी परेकोमा पछिल्लो आवमा उजुरीको सङ्ख्या एक हजार दुई सय ८० पुगेको छ । जुन १५२ प्रतिशतको वृद्धि हो ।
मधेस प्रदेशमा १ प्रतिशत भन्दा कम वृद्धि देखिन्छ भने गण्डकी प्रदेशमा २८ प्रतिशत, लुम्बिनी प्रदेशमा २५ प्रतिशत, कर्णाली प्रदेशमा ३९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६१ प्रतिशत र काठमाडौँ उपत्यकामा १२ प्रतिशतले उजुरीहरू बढेको देखिन्छ । हेर्नुहोस् माथिको तालिका
के हो घरेलु हिंसा ?
२०६६ साल वैशाख १४ गते प्रमाणीकरण भएको घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ का अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले आफ्नो घर परिवारमा भएको अर्को सदस्य दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनेर स्पष्ट रूपमा व्याख्या गरेको छ । आफ्ना घर परिवारका सदस्य भन्नाले घरमा काम गर्ने कामदार देखि लिएर धर्मपुत्र वा धर्मपुत्री वा आश्रित व्यक्तिलाई समेत समेट्छ ।
“शारीरिक यातना" भन्नाले कुटपिट गर्ने, गैर कानुनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्कने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य सम्झनु पर्छ ।
“मानसिक यातना" भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्ने, रूप, रङ्ग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनु पर्छ र सो शब्दले मानसिक वा भावनात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलाई जनाउँछ ।
“यौनजन्य यातना” भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य सम्झनु पर्छ ।
“आर्थिक यातना" भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाब दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्कार समेतलाई जनाउँछ ।
प्रहरी भन्छ : सचेतना बढ्दा उजुरीका सङ्ख्या बढे
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसी पीडितमा सचेतना बढेसँगै घरेलु हिंसाका घटनामा वृद्धि आएको बताउँछन् ।
पहिले पहिले घरभित्रको कुरा बाहिर लैजानुहुँदैन भन्ने सामाजिक मानसिकताले महिलाहरू हिंसालाई आफैँभित्र दबाएर राख्ने गर्थे ।
जसले गर्दा घरेलु हिंसाका घटना बाहिर आउन सकेका थिएनन् । तर महिलाहरूमा हिंसासम्बन्धी चेतनाको विकास भएसँगै यस्ता घटना बाहिर आउन थालेको प्रवक्ता केसी बताउँछन् ।
प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पहिले हिंसा भए पनि प्रहरीसम्म कमै उजुरी पुग्थे । पीडित खुल्ने सम्भावना कमै हुन्थ्यो । तर अहिले जनतामा आएको चेतना र प्रहरी सक्रियताका कारण उजुरी बढेको छ ।'
पहिले घटना दबाएर राखिने भए पनि अहिले अधिकांशले कानुनी उपचार खोज्ने भएका कारण घरेलु हिंसाको ग्राफ उकालो लागेको बताउँदै उनी भन्छन्, ‘जनता शिक्षित भइसके, पीडित पनि घटनाबारे खुल्न थालेका छन् । सामाजिक सञ्जाल अपराधको थलो बनेको छ तर सदुपयोग गर्नेहरूले त्यहाँबाट पनि न्याय पाउने आफ्नो अधिकारका बारेमा जानकारी पाइरहेका छन् ।'
हिंसा हिजो पनि थियो आज पनि छ
हिजो हाम्रो हजुरआमा आमाको पालामा पनि महिला हिंसा भइरहेकै थियो । उहाँहरूले घरभित्र वा समुदायभित्र मात्रै शारीरिक र मानिसक हिंसा भोग्नुभयो । त्यति बेला श्रीमानले श्रीमतीलाई कुट्ने भनेको नर्मल कुरा हो भनेर बुझिन्थ्यो ।
अहिले बिस्तारै महिलाहरूको शिक्षामा पहुँच, सामाजिक चेतना बढ्दै गइरहेपछि हिंसा खराब हो, यसबारे अब हामीले बोल्नुपर्छ भन्ने कुराले हिंसाको तथ्याङ्क बढेको मैले महसुस गरेकी छु ।
हाम्रो समाज एकदमै बदलिँदो छ । यसले गर्दा हिंसाका प्रकारहरू बदलिँदै गएका छन् । पछिल्लो समयमा शारीरिक मानिसिक र यौनिक हिंसाहरू बढिरहेका छन् । इन्टरनेटको सहज पहुँच र उपलब्धताले गर्दा सामाजिक सञ्जालमार्फत साइबर क्राइम बढेको देखिन्छ भने इन्टरनेटमा उपलब्ध विभिन्न सामाग्रीहरूले बलात्कारका केसहरू बढेको हुन सक्छन् ।