सोलुखुम्बुमा खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको अभियोगमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।
बिहीबार साँझ साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ वर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरेका थिए । घरायसी विवाद हुँदा मादक पदार्थ सेवन गरेका चन्द्रले मनिलालाई खुकुरी प्रहार गरेका थिए ।
मनिलाको दुवै हात काटेको, टाउको र गालामा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहारबाट मनिलाको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।