अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।
अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।
एक नाबालक गायिकाले आफूलाई ललाइफकाई बलात्कार गरेको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका पलमाथि अनुसन्धान भइररहेका बेला नवलपुरमा पनि जाहेरी पर्यो । पललाई नवलपुर पुर्याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता गर्यो ।
१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सामान्तयाः ३ वर्षभन्दा बढी सजाय हुने गम्भीर प्रकृतिका घटनामा पुर्पक्षका लागि थुनामा पठाइन्छ । थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन् ।
पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाएकै दिन केटिएम दैनिकले “पल शाहसँग विकल्प “उच्च अदालतबाट पाउन सक्छन् सामान्य वा धरौटीमा रिहा हुने आदेश” शीर्षकमा समाचार लेखेको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार जिल्लाको आदेश बदर गराउने माग गर्दै उच्च अदालतमा “धरौटी वा सामान्य तारेखमा राखेर मुद्दा पुर्पक्ष गराइ पाउन” निवेदन हाल्न सकिन्छ ।
पल शाह उच्च अदालतमा गए वा उच्च अदालतले जिल्लाको आदेशलाई बदर गर्यो भने उनी धरौटी वा सामान्य तारेखमा रहेर पनि मुद्दा पुर्पक्ष गर्न पाउँछन् ।
तात्कालिन सभामुख कृष्णबहादुर महराले पनि जिल्ला अदालत काठमाडौंको पुर्पक्षको लागि थुनामा बस्ने आदेशको विरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।