के हाम्रो नागरिक बन्ने अधिकार छैन राज्य ? के बुवा आमा हुने सन्तानहरूको मात्रै जन्म दर्ता बन्ने हो ? हामीलाई आमाबुवा थाहा छैन, घर थाहा छैन भन्दैमा हामी यो देशको नागरिक नै होइनौ र ? यो प्रश्न ती बालबालिकाको हो, जो विभिन्न कारणले आफ्नो आमाबुवाको काखको मायाबाट वञ्चित भएर सडकमा आइपुगेका छन् ।
उनीहरूलाई आफ्नो आमाबुवा र आफू जन्मेको स्थानको बारेमा केही पनि थाहा छैन । आफ्नो वासस्थानको नाम पशुपति क्षेत्र बताउँछ । आफ्नो जीविकोपार्जन लागि काठ बटुल्ने लगायतका कामहरू गरेर हुर्किएको उनीहरू बताउँछन् । गत हप्ता बालकको सवालमा काम गर्ने सामाजिक संस्था ‘साथ साथ’ले आयोजना गरेको कार्यक्रममा जन्म दर्ताको विषयमा ती बालबालिका बोल्दै थिए । तिनीहरूको कुरा सँगै कार्यक्रममा सहभागीहरू भावविह्लल देखिन्थे । एकातिर जन्म दर्ता बन्न नसक्दा उनीहरूले खेप्नु परेको सास्ती र हैरानीको व्याख्या गर्दै थिए भने अर्कातिर राज्य सँग आफ्नो पहिचान मागी रहेका थिए ती बालबालिका ।
घटना १
मेरो बालापन पशुपति क्षेत्र वरिपरि बित्यो । कसले र किन ल्याएर मलाई त्यहाँ छोड्यो थाहा छैन । बुवा आमा पनि चिन्दिन । एक दिन पशुपतिको छेउ घुम्दै गर्दा एक जना सरले मलाइ आफ्नो अफिस लैजानु भयो । त्यसपछि म त्यही संस्थामा कार्यरत म्यामको बुवासँग भारतको गुजरात गए । गुजरातमा ८ वर्ष बित्यो एक कारखानामा हेल्परको रूपमा काम गरे । मेरो कान्छी औला पनि छैन । म नेपाल आएको १ वर्ष भयो । मेरो अहिले पनि पाटीमै बास छ ।
अरू बच्चाहरू रमाएको देख्दा मन रुन्थ्यो । तर रोएको मनलाई आफै सम्झाउँथे किनकि मेरो आशु र वेदना सुन्ने कोही छैन । हिजोको दिनभन्दा आजको दिन मेरो लागि सुखमय छ किनकि हिजोको दिनमा खान गाह्रो थियो । म सँग केही थिएन तर आज सानोतिनो काम गरेर थोरै पैसा कमाएर मोबाइल र राम्रो कपडा लगाउन पाएको छु । तर यतिले मात्रै मेरो जीवन सार्थक हुँदैन । मैले जीवनमा धेरै गर्नु छ ।
देश विदेशमा गएर कला प्रस्तुत गर्नु छ देशको नाम राख्नु छ । तर यो सबैबाट म अहिले वञ्चित छु किनकि म सँग राष्ट्रको पहिचान छैन । जन्म दर्ता नागरिकता छैन मेरो । जन्म दर्ता बन्ने आसमा दिन दिन सोचेर बित्छ । कहिले आत्महत्या गरूँ त कहिले कहाँ जाँउ जस्तो हुन्छ । समस्या भन्दै गर्दा उनका आँखाबाट आशु झर्न सुरु हुन्छ । उनको त्यो भावविहल अवस्था देखेर कार्यक्रममा उपस्थितले मन थाम्न सक्दैनन् ।
घटना २
२८ वर्षका उनी कुन ठाउँमा जन्मिएका हुन आजसम्म पनि थाहा छैन । बुवाआमाको काखमा आँखा खुल्नु पर्ने तर सडकमा कोही नभएको स्थानमा आँखा खुल्यो । जहाँ मेरो आफ्नो कोही थिएन । मलाइ यसरी हिडनु पर्छ ? पढ्नु पर्छ जस्तो शिक्षा दिने पनि कोही भएन । तर भाग्यले सधैँ ठग्दैन कोही नकोहि साथ दिने व्यक्ति पठाइ दिन्छ भने जस्तै भयो मेरो लागि शङ्कर बहादुर बस्नेत ।
वि.स.२०५७ सालमा बल्खु चोकमा एक्लै भौँतारिरहेका अवस्थामा स्थानीय शङ्कर बहादुर बस्नेतले भेटी आफ्नो घरमा राख्न थालेका हुन । ती २८ वर्षीय युवाको संरक्षक शङ्कर बहादुर बस्नेत नै हुन । रामेछाप थाक थलो भएका शङ्कर बल्खु चौकमा होटेल सञ्चालन गर्दै आएका छन् । उनले ती युवकलाई जिविको पार्जनको लागि आफ्नै होटेलमा काम गर्न दिए । हालसम्म त्यही होटेलमा काम गर्दै आएका ती युवकको नागरिकता नहुँदा समस्यामा परेको र आफूलाई हीनताबोध भइरहने ती युवक बताउँछ ।
घटना ३
स्थायी ठेगाना ओखलढुङ्गा रहेको ९ वर्षको बालक काठमाडौँमा नै जन्मिएका हुन् । विगत लामो समय देखि सडकमै आश्रित उनको परिवार,बुवा रामकृष्ण सापकोटाको जन्म पनि काठमाडौँ स्थित पशुपति एरियामै भएको हो । हाल कक्षा २ मा अध्ययनरत ती बालक आमा बुवा र २ वर्षीय बहिनीसँग बस्दै आएका छन् । उनको हजुरआमाको मानसिक अवस्था ठिक छैन । ती बालकको हजुरआमाको नागरिकता पनि माइती पक्षबाट बनेको छ । हजुरबुबा बितिसकेका छन् । सडकसँग आश्रित बालबालिकाको राष्ट्रियताको लागि काम गर्ने ‘साथ साथ’ संस्थाले ती बालकको स्थायी ठेगाना रहेको ओलढुगामा गई स्थलगत भ्रमण गरी बस्तु अवस्था बुझ्दा कानुनी कागजपत्र नहुँदा स्थानीय तहले नागरिकताको लागि सिफारिस नगरेको बताउँछ । यी बालकको बुवा आमा र आफू समेत तिन सन्तान गरी कोहीको पनि जन्म दर्ता र नागरिकता छैन । यिनको घटनामा तिन पुस्ता राष्ट्रियताबाट वञ्चित देखिन्छन् ।
माथि प्रस्तुत तिन घटना सडक सँग आबद्ध रहेका बाल बालिकाहरूको सत्य कथामा आधारित घटना हो । जो पशुपतिको वरिपरि घुमेर आफ्नो जिविसको पार्जन गरिरहेका छन् । यी प्रतिनिधि पात्र मात्रै हुन यस्ता हजारौँ बालबालिका बाउआमा विहीन जीवन बिताउँदै सडकसम्म आइपुगेका छन् । उनीहरू कसरी पशुपतिसम्म आए कसले ल्याएर छोड्यो केही थाहा छैन । कारणवश सडकसम्म आइपुगेका ती बालबालिकाहरूको नागरिक बन्ने अधिकार कतिको सुनिश्चित हुन्छ यही नै हाम्रो लागि चुनौती हो ।
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिनभित्र बच्चाको जन्म दर्ता हुनै पर्छ कानुन भन्छ तर जसको मातृत्व र पितृत्व ठेगान छैन उनीहरूको के को आधारमा जन्म दर्ता बन्छ त भन्ने प्रश्न व्यवहारिक पक्षले देखाउँछन् । नेपालको सरहद भित्र जन्मिएका सबै व्यक्ति नागरिक बन्न सक्ने आधार संविधानले नै दिए पनि त्यो व्यवस्था लागु हुन सकेको छैन । देशमा एक पटक यस्तो पनि समय थियो जहाँ विदेशी नागरिकहरूले रु ५० मा नागरिकता बनाए ।
आज ती नेपाली नागरिक हु भनेर छाती फुलाएर कुरा गर्छन् । तर आफ्नै देशको सरहद भित्र जन्मिएका ती बालबालिका राष्ट्रको पहिचानबाट वञ्चित छन् । बालबालिका भविष्यका कर्णधार हुन यो कुरा राष्ट्रले मान्छ तर निर्दोष ती व्यक्ति जो सडकमा भौँतारिरहेका छन् उनी यो देशका कर्णधार हुन सक्छन् या सक्दैन भविष्यले बताउँछ । सडकमा भौँतारिरहेका ती बालबालिकाहरूको जीवनचर्या बेग्लै छ । सबैले छि र छ्या मात्रै भन्छन् तर वास्तविकता बुझ्दै जाँदा अभिभावकहरूको अदूरदर्शिताको कारण यो समस्या भएको बुझिन्छ ।
कस्तो छ त जन्म दर्ताको कानुनी प्रावधान ?
जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो र राष्ट्रको पहिचान दिने एक महत्त्वपूर्ण कानुनी दस्ताबेज पनि हो । नेपालको संविधान २०७२ को धारा ३९ ले बालबालिकाको हक सुनिश्चित गरेको छ । प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्म दर्ताको हक हुने छ भनेर व्यवस्था गरेको छ । त्यसै गरी बालबालिका र अन्य पारिवारिक घटना विवरणको लागि भन्दै जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४ छ । यस अन्तर्गत तपसिल बमोजिम प्रावधान छ :
जन्म दर्ता बनाउन संलग्न गर्नुपर्ने कागजात (अनुसूची २)
१. बाबु वा आमाको नागरिकताको प्रतिलिपि;
२. स्वास्थ्य संस्था , अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पछिल्लो खोप लगाएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।
त्यसै गरी मुलुकी देवानी संहिता, २०७४ ले बालबालिका जन्मिएको तीन महिनामा जन्म दर्ता गर्नुपर्ने उल्लेख गरेको छ भने बालबालिका पञ्जी करण ऐन,२०७६ ले ३५ दिनभित्र जन्म दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।
बालबालिका सम्बन्धी ऐन,२०७५ मा पनि जन्म दर्ताका विषयमा व्यवस्था गरेको छ ।
व्यवहारिक कठिनाइ
माथि उल्लेखित कानुनी व्यवस्था कागजपत्र भएको अवस्थामा प्रयोग गर्न सकिन्छ तर सवाल अलपत्र अवस्थामा रहेका बालबालिकाको पहिचानको कुरामा आउँछ । सडकसम्म आइपुग्नु ती बालबालिकाको दोष होइन । उनीहरूले अभिभावकत्व नपाएको हो ।
यसरी सडकमा विभिन्न रूपमा रहेका बालबालिकाको नागरिक हुने अधिकार लाई कसरी सुनिश्चित गर्ने ? भन्ने प्रश्न हामी सँग छ । नागरिक हुन पहिले जन्म दर्ता आवश्यक पर्छ । त्यही जन्म दर्ताको आधारमा नागरिकता पाउन सक्ने सम्भावना बढेकोले अलपत्र अवस्थामा रहेका बालबालिकाको सवालमा जन्म दर्ता बनाउन कठिनाइ उत्पन्न हुने महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ बताउनु हुन्छ । श्रेष्ठका अनुसार मातृत्व र पितृत्व ठेगान नभएको बालबालिकाको हकमा सम्बन्धित स्थानीय तहको क्षेत्रमा रहेका बालबालिकाका सम्बन्धमा वडा अध्यक्षले दिएको सूचनाको आधारमा जन्म दर्ता गर्ने गरी वडा पिता वा माताको व्यवस्था भएको जानकारी दिनु भयो ।
स्थानीय तहको भूमिका
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ मा वडा समितिको काम,कर्तव्य र अधिकार तोकिएको छ । जसमध्ये (ङ) मा सिफारिस र प्रमाणित गर्ने प्रावधान राखिएको छ । यस अन्तर्गत वडा भित्रको कुनै पनि व्यक्ति विशेषसँग सम्बन्धित सवालहरूमा वडाले सिफारिस वा प्रमाणित गर्न सक्छ । यही कुरा व्यक्तिगत घटना दर्तामा आउँछ । आफ्नो वडाको निवासी व्यक्तिको घटना दर्ता वडाले गर्छ ।
यस अन्तर्गत जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद ,मृत्यु दर्ता,बसाइसराइको प्रमाणित गर्ने अधिकार वडालाई छ । यसै अनुरूप सबै स्थानीय तहहरूमा पञ्जिकाधिकारी तोकिएको छ । सोही पञ्जिकाधिकारी मार्फत व्यक्तिगत घटना दर्ता हुन्छ । स्थानीय तहले आफ्नो क्षेत्रको वस्तु अवस्था हेरेर कानुनको पनि निर्माण गर्न सक्छ तर व्यक्तिगत घटना दर्तामा राष्ट्रिय कानुनलाई नै अवलम्बन गर्दै आएको देखिन्छ । यस अन्तर्गत वडा कार्यालयहरूले आफ्नो क्षेत्र भित्र रहेका बालबालिका जो सडकसँग आबद्ध छन् त्यसता बालबालिकाको आकडा राखेको कहीँ पनि देखिँदैन ।
त्यसै गरी जन्म दर्ताको हकमा रहेर स्थानीय निकायसँग कुरा गर्दा नागार्जुन नगरपालिकाका पञ्जी करण शाखाका अधिकृत उत्तम राज गिरी भन्छन् ,“सडकमा अलपत्र या कुनै संस्थाको सुरक्षित आव गृहमा बस्दै आएका बालबालिकाको जन्म दर्ता बनाउने हकमा संस्थाको व्यक्ति संरक्षक भई स्थानीय तहका वडा अध्यक्ष सूचक बसेर जन्म दर्ता गर्न सकिने पञ्जिकरण ऐन २०७७ मा उल्लेख छ तर पछि केही जोखिम आउन सक्छ भन्दै कतिपय वडाहरूले यस्तो प्रकृतिको बालबालिकाको हकमा जन्म दर्ता नगर्ने समस्या देखिएको छ ।’
विषयगत कानुनको व्यवस्था भए पनि व्यवहारमा कानुनको पालना नदेखिँदा नागरिकमा निराशा र राज्यप्रतिको विश्वास नै गुम्न सक्ने सम्भावना प्रबल हुने उनको भनाई छ ।
सामाजिक संस्थाको भूमिका
समाजमा विध्य मान समस्याहरू उपर पैरवी गर्ने काम सामाजिक सस्थाहरुले गर्दै आएका छन् । सामाजिक संस्था सरकारको अनुमति लिएर विषयगत सवालमा तोकिएको क्षेत्र भित्र काम गर्छन् भने अर्कातिर संस्था सरकारको हात पनि हुन जसले समाजको सवाललाई लिएर सर कारलाई झकझकाउने लगायत सम्बन्धित मुद्दामा कानुन बनाउन सरकारलाई दबाब पनि दिन्छ । सोही सन्दर्भमा सडक सँग आबद्ध बालबालिकाको जन्म दर्ता र बाल यौन दुरव्यहारको विरुद्धमा विगत २३ वर्ष देखि काम गर्दै आइरहेको साथसाथ नाम गरेको सामाजिक संस्थाको अनुभव छुटटै छ । बालकको सवालमा सम्बोधन गर्ने सम्भवता नेपालकै पहिलो संस्था हो साथसाथ ।
सडकमा अलपत्र रहेका बालबालिकाको राष्ट्रियता दिलाउन कागजपत्र केही नहुँदा जन्म दर्ता गराउन कठिन भएको र स्थानीय तहले पनि नियमपूर्वक काम नगर्दा सास्ती बेहोर्नु परेको संस्थाकी रिसोर्स एक्जुकेटिभ कविता शाह बताउँछिन् । त्यसै गरी संस्थाले हालसम्म पाँच सय १७ बालबालिकाको घटना अभिलेख गरेको छ । संस्थाका अनुसार सडकका बालबालिकाको सवालमा कानुनले पनि बाटो खोलेको अवस्थामा स्थानीय निकायका पदाधिकारीहरू बेखबर रहेको बताइयो । त्यसै गरी बहु विवाहको कारण बच्चाको जन्म दर्ता बन्न नसकेको ९७ घटना संस्थामा अभिलेख गरिएको जानकारी दिइएको छ ।
निष्कर्ष :
बालबालिकाको हक अधिकार स्थापित गर्न अन्तर्राष्ट्रिय देखि राष्ट्रिय कानुन समेतले बोले पनि त्यसलाई व्यवहारमा उतार्न कठिन भइरहेको अवस्था छ । कानुनका कुरा व्यवहारमा उत्रन नसक्दा लाखौँ बालबालिकाको भविष्य अन्धकार हुने सम्भावना बढी हुने राष्ट्रिय बाल अधिकार परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसाल बताउनु हुन्छ । बालबालिकाको चौतर्फी हितको लागि गठन भएको राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा अलपत्र परेका बालबालिकाको राष्ट्रियता दिलाउन सबै स्थानीय निकायहरूसँग समन्वय गरिएको भुसालको भनाइ रहेको छ ।