हरे राम बाजे दस गाउँ भरी नाम कहलिएका पण्डित हुन ।
उनी जुनसुकै खानेकुरा खानु भन्दा पहिला सधैँ जसो सोध्ने गर्छन् “चोखो नितो त गर्यौ नि ? माछा मासु लतपत त गरेको छैन नि ?”
तर हिजो त उनी बजारमा गएर बफ मात्र पाउने म: म पसलमा भैँसीको म:म कपाकप खादै रहेछन् ।
मलाइ त्यहाँ देखेर बाजे एक क्षण त झस्के । के गरौँ कसो गरौँ अक्क न बक्क भए । तर म:म खान भने छोडेनन् ।
मैले अप्ठयारो मान्दै – मान्दै उनलाई भने “बाजे कतै तपाइ झुक्किनु पो भयो कि ? यस भित्र त … ” मेरो कुरा बिचैमा काट्दै बाजे पण्डित्याइँ छाँट्न थाले – “हेर्नुस् माधव भाइ म जुन फहलार खाइ रहेको छु यो पिठोबाट बनेको छ भन्ने कुरा प्रस्टै देखिन्छ । आफ्नो आँखाले नदेखिईकन कुनै कुरालाई यसै हो भन्नु पाप चिताउनु हो । अब यस भित्र अरू के छ के छैन त्यो त भगवान् नै जानुन् ।”
ति भनेर बाजेले फेरि अर्को डल्लो म:म कप्प मुखमा हाले । म भने उनको व्याख्यात्मक टिप्पणी सुनेर रनभुल्लमा परे ।