राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न मुलुकबाट भिख नमागे पनि देश चलाउन सकिने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले एमसीसीको बारेमा बताउँदै एमसीसी ठीक कि बेठीक आफ्नो ठाउँमा छ । तर डलरको मूल्यले गर्दा झण्डै साठी अरब नेपाल भित्रिनेछ ।
हाम्रो देशका नेताहरू अमेरिकाबाट ६० अबर सहयोग लिएको कारणले चीन रिसाउँछ भने त्यहाँबाट सत्तरी अरब र चीनसँग सहयोग लिएको देखेर भारत रिसाउँछ भने त्यहाँबाट पनि ८० अरब माग्ने कुरा गर्छन् ।
कार्यक्रममा सम्वोधन गर्दै लिङ्देनले भने “हामी हाम्रो देश भिख नमागेर पनि चलाउन सक्छौ र बनाउन सक्छौं । हाम्रो देशमा उत्पादन हुने बिजुली अरू देशलाई नबेचेर पनि यही देशभित्र खपत गर्न सक्छौं । बिजुलीको प्रयोगबाट हाम्रो देशलाई समृद्ध बनाउन सक्छौं । देशका जनताको जिवनलाई सहज बनाउन सक्छौं । ”
उनले अव राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरू कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरू आफ्नो पक्षमा रहने धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली विदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।
बिजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक विकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाई छ । उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरूलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।