फागुन १३ गते मोरङको लेटाङ नगरपालिकामा १२ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी उनको शव जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटियो । लेटाङ–८ स्थित लालहीरा सामुदायिक वनभित्र स्थानीय ज्यामिरे टोलकी वर्षीया करुणा राईको हराएको दुई दिनपछि शव भेटिएको थियो ।
फागुन ११ गते बुधबार अपराह्न ४ बजेबाट बेपत्ता रहेकी उनी जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्थिन् । दुई दिनअघि स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएकी उनलाई बलात्कारपछि हत्या गरेर जङ्गलमा गाडिएको थियो ।
१२ वर्षीया बालिकासँग यौन सम्बन्धको प्रस्ताव, नमानेपछि बलात्कार
मोरङको लेटाङ नगरपालिका-८ कि १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या...
आइतबार, फाल्गुन १५ २०७८उनको मृत्युले धेरै आमाहरूको मनमा डर सिर्जना भएको छ । अपराधीलाई मृत्युदण्ड, फाँसी या इन्काउन्टर गर्नुपर्छ भनेर सामाजिक सञ्जालहरूमा आवाज पनि उठिरहेको छ ।
‘योऽकामां दूषयेत् कन्या
स सद्यो वधमर्हति।’ ८/३६४
वियोग सहन नसकेर मृत्युदण्डको सजाय माग गर्ने आमाहरूलाई मनुस्मृतिले पनि समर्थन गरेको देखिन्छ । यी माथिका हरफहरूको अर्थ ‘कन्यालाई बलात्कार गर्ने व्यक्ति तत्कालै मृत्युदण्ड पाउन योग्य हुन्छ।’ मनुस्मृतिले महिलाहरूलाई पूजनीय भनेर व्याख्या गरेको पाइन्छ । हिन्दु संस्कृति र वैदिक सनातन धर्मले नारीलाई देवी भनेर पूजा गर्ने गरेको छ । हाम्रो शास्त्रले पनि नारी पूज्य हुन्छन् भन्ने गरेको छ ।
यहाँ नारीलाई पुज्नु वा नारीलाई सम्मान गर्नुको अर्थ मातृत्वको कदर गर्नु हो, सृष्टिको सम्मान गर्नु हो । हाम्रो घरमा भएका छोरी चेलीको रक्षा गर्नु हो । उनीहरूलाई माया सम्मानको साथमा अधिकार दिनु हो ।
तर महिलालाई देउताको रूपमा पुज्ने हाम्रो देशमा महिलाहरूलाई हेर्ने दृष्टिकोण बदलिएको पाइँदैन । २१औँ शताब्दीमा आइपुग्दा पनि छोरी-चेली घरमा नै सुरक्षित छैनन् । अहिलेको समयमा यही देशमा महिला सुरक्षित हुने स्थिति छैन । हाम्रो समाज र देशको हरेक स्थानका मानिसहरूका मस्तिष्कमा महिलाहरूलाई हेरिने र गरिने व्यवहार यति धेरै तुच्छ र घृणित भएको छ कि सोच्दा पनि मन नै छियाछिया भएर आउँछ।
तिनै देवी मानिएका महिला अहिले मनोरञ्जनका साधन बनेका छन्, हिंसाका पात्र बनेका छन्, सभ्यताको विकासमा पछाडि पारेर समाज पुरुषप्रधान बन्यो वा पितृसत्तात्मक सोचसँगै महिलाहरू पीडामा पर्न थाले । उनीहरू आफ्नै पतिको कुटाइबाट अकालमा ज्यान गुमाउँछन्, मनोरञ्जनको साधन बनेर भित्तामा टाँसिन्छन् । घर विद्यालय तथा खेतमा समेत सुरक्षित हुँदैनन् । बोक्सीको आरोपमा कुटिन्छन्, अलच्छिनी, मान्छे टोकुवाको आक्षेप खप्न बाध्य भएका छन् ।
गर्भमा रहेको छोरीदेखि लिएर भर्खर तोते बोल्न सुरु गरेकी बच्ची, १३/१४ वर्षकी कलिली बालिका या त बिहे गरेकै युवती नै किन नहोस् उनीहरूले सुरक्षित महसुस गर्न सक्ने वातावरण छैन ।
दिनानुदिन बलात्कारका घटनाहरू बढिरहेको छन् । विगत तीन वर्षमा बलात्कार गरेर १६ जनाको हत्यासमेत गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये १३ जना त कलिलो उमेरका बालिकाहरू नै छन् ।
फागुन ३० गते सोमबार हामीले दर्दानक घटना सुन्नुपर्यो । मोरङ सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कार पछि हत्या गरियो । शुक्रबार साँझ साढे ५ बजे ती बालिका घरैबाट हराएकी थिइन् । एक घण्टापछि घरनजिकै झाडीमा बालिका रुँदै गरेको अवस्थामा परिवारले फेला पारेको थियो । घरबाट अन्दाजी १५० मिटर उत्तर पश्चिम दिशामा रहेको बनमारा र बयर घारीसमेत रहेको स्थानमा सुरुवाल खुल्लै रहेको अवस्थामा बालिका फेला परेकी थिइन् ।
१८ महिने बालिका बलात्कारपछि हत्या प्रकरण : आमा अझै बेहोस, बुबाको रोदन–‘हाम्रो बाँच्ने आधार नै गुम्यो’
मोरङ सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरमा डेरा गरेर बस्ने राजकुमार मण्डल साइकलको पाइडल...
सोमबार, फाल्गुन ३० २०७८उनलाई बलात्कारपछि हत्या गर्ने स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी पक्राउ परिसकेका छन् । ती बालिका घरको छेउमा एक्लै खेल्दै गरेको देखेपछि वरिपरि कोही पनि नभएको मौका छोपेर अजयले उनलाई बोकेर बनमारा झाडीमा ल्याएका थिए । अजयले बालिकाले लगाएको सुरुवाल खोली करणी गरेका थिए । करणीका क्रममा बालिका रुन थालेपछि भने उनको टाउकोमा बियरको बोतल तथा ढुङ्गा प्रहार भएको थियो ।
बालिका अर्धचेतन भएपछि मिथुनले समेत करणी गरेका थिए । पक्राउ परिने डरले मिथुनले बालिकामाथि प्रहार भएको बियरको बोतल र दुई वटा ढुङ्गा घटनास्थलदेखि केही उत्तर पश्चिममा फालेका थिए ।
बालिकाको टाउकोको दायाँ–बायाँ सुन्निएको, योनीमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो । अर्धचेतन अवस्थामा फेला परेकी बालिकालाई तत्काल गछियास्थित स्थानीय अस्पतालमा लगेर उपचार गराई थप उपचारार्थ नोबेल अस्पताल विराटनगर ल्याइएको थियो । उपचारका क्रममा शनिबार राति १ बजे उनको मृत्यु भएको थियो ।
अब त अभिभावकहरूलाई बिहान स्कुल पढ्न पठाएको छोरी बेलुका घर फर्कने हो कि हैन ? भन्ने चिन्ताले सताउन थालेको छ । दिनानुदिन हुने गरेका बलात्कार र हत्याका घटनाले सिङ्गो समाज सशङ्कित र भयभीत अवस्थामा पुगेको छ ।
आजको दिनमा एउटा चेली न बन पाखामा सुरक्षित छ, न विद्यालयमा । आफ्नो सुनौलो भविष्यको खोजीका निम्ति विद्यालय पुगेकी बालिका शिक्षकबाटै असुरक्षित महसुस गरिरहेकी हुन्छे भने दिनचर्या गुजार्नका निम्ति बन पाखा र खेतबारीमा पुगेका बालिकाहरू गाउँकै दाजुभाइ नामक यौन पिपासुहरूको सिकार बन्न पुगेका छन् । घरबाट काममा निस्कन्छु भनेकी छोरी कार्यालयमा पनि सुरक्षित छैनन् । त्यहाँ पनि उसलाई गिद्देनजरले हेर्ने पुरुषहरूको कमी हुँदैन ।
निर्मला पन्त, सम्झना कामी, भागीरथी भट्टको बलात्कारपछि भएको हत्याकाण्ड त प्रकाशमा आएका केही प्रतिनिधिमुलक घटनामात्र हुन् । यहाँ दैनिक कैयौँ चेलीको अस्मिता लुटिन्छ । कतिको ज्यान लिइन्छ । तर गाउँ, समाज र इज्जत जाने डरले घटना बाहिर नै आउँदैनन् ।
विभिन्न किसिमका प्रलोभन र डर धम्कीको आडमा यस्ता कैयौँ घटनाहरू अझै गुमनाम अवस्थामै छन् । दर्जनौँ निर्मला र सम्झनाहरू हरेक दिन बलात्कृत भएर बलिन्धारा आँसुमा जीवन व्यतीत गर्न बाध्य छन् । नेपाली समाजमा अझै पनि बलात्कार र हत्याका मुद्दाहरू राजनीतिक आडको हैकम देखाएर पीडितलाई दबाउने प्रचलन छ ।
फागुन २९ गते आइतबार केटिएम दैनिकमा वृद्ध हजुरबुबाबाट बलात्कृत १४ वर्षीया नातिनी बनिन् आमा भनेर समाचार प्रकाशन भयो । यो पीडा पनि अरू दुई प्रतिनिधिमुलक घटनाभन्दा कम छैन । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ की मीना लिम्बू (परिवर्तित नाम) ले १४ वर्षको उमेरमा नै बच्चा जन्माइन् ।
बुबा-आमा सानैमा गुमाएकी मीना, उनीहरूको शेष सकिएको मूल घर अर्थात् हजुरबुबा-हजुरआमाको शरणमा बस्दै आएकी थिइन् । तर त्यहाँ पनि उनले मायाको साटो जबरजस्ती करणीको सामना गर्नुपर्यो । रक्षक नै भक्षक भएर निस्किएपछि उनी पटकपटक हजुरबुबाबाट बलात्कृत भइन् । उनी गर्भवती भएपछि गाउँमा हल्ला भयो उनले हजुरबुबाले आफूलाई पटक-पटक करणी गरेको कुरा चिच्याईचिच्याई सुनाइन् । तर उनको पीडा सुनिदिने आमा उनीसँग थिइनन् । उनको कुरामा कसैले विश्वास गरेनन् ।
१४ वर्षको उमेरमा नै गर्भवती बनेकी उनले नानाभाँती लाञ्छनाको सामना गर्नुपर्यो । राति-राति हिँड्नेदेखि लिएर तीन दिनसम्म हराउँथी भनेर आफ्नै हजुरआमाको आरोप खेप्नुपर्यो । परिवार छिमेकी, समाज र प्रहरीको आग्रहमा उनी १४ वर्षमा आमा बनिन् । अब डिएनए परीक्षण गरेर बुबा पत्ता लगाउने प्रक्रियामा रहेको बताइन्छ ।
वृद्ध हजुरबुबाबाट बलात्कृत १४ वर्षीया नातिनी बनिन् आमा, कानुनी परिबन्धले बनायो सुत्केरी !
सङ्खुवासभाको चैनपुर नगरपालिका–७ की मीना लिम्बू (परिवर्तित नाम) ले सानैमा आमा–बुबा...
आइतबार, फाल्गुन २९ २०७८आर्थिक वर्ष २०७४–७५ मा एक हजार चार सय ८० बलात्कारका घटना प्रहरीको दर्ता भएकोमा ०७५–७६ मा बढेर दुई हजार दुई सय ३० पुगेका छन् । २०७६–७७ मा अघिल्लो वर्षको तुलनामा अलिक कम अर्थात् दुई हजार एक सय ४५ घटना दर्ता भएकोमा पछिल्लो आवमा भने उक्त सङ्ख्या बढेर दुई हजार पाँच सय ३२ पुगेको छ । बलात्कार भएर निधन भएपछि हामी केही दिन नारा जुलुस गर्छौँ, सरकारलाई सचेत गराउँछौँ, विभिन्न कार्यक्रमहरू गर्छौँ र बिस्तारै बिर्सँदै जान्छौँ ।
अचम्म लाग्दो कुरा त के छ भने बालबालिका बलात्कार र हत्याविरुद्ध प्रमुख भूमिका खेल्नुपर्ने निकाय पनि चुप छ । जनताको अधिकार सुनिश्चित गराउन नेतृत्वमा पुगेका दलीय नेताहरू नै यसखाले घृणित अपराध कार्यमा संलग्न अपराधीहरूलाई जोगाउने चलखेलमा लागेका समाचार पनि सार्वजनिक हुने गरेका छन् ।
यी र यस्ता विषयलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने र सोअनुसारको सशक्त सम्बोधन गर्नुपर्ने अपरिहार्यता भइसकेको छ । बढ्दो बालिका हिंसाका समाचारले अब राज्यबाट गरिनुपर्ने पहलमा कुनै ढिलाइ गरिन नहुने अवस्था इङ्गित गरेको छ ।
राष्ट्रपतिलाई अनुरोध
नेपालमा जब महिला हिंसा तथा बलात्कारको मुद्दाहरू चर्कन्छ तब सामाजिक सञ्जालमा महिला राष्ट्रपति भएकै देशमा महिलाहरू सुरक्षित भएनन् भनेर विभिन्न टीकाटिप्पणीहरू आउँछन् । त्यसलाई हामीले नकारात्मक र सकारात्मक दुवै पक्षबाट हेर्न सक्छौँ । राष्ट्रपति भनेको देशको प्रमुख व्यक्ति हो । अझ भन्ने हो भने हामी महिलाहरूको प्रेरणाको स्रोत हो । महिला राष्ट्रपति भएकै कारणले हाम्रो शिर उँचो भएको छ । राष्ट्रप्रमुख भएको नाताले म उहाँलाई आमा मान्छु र एक आमाले आफ्नो छोरीको रक्षाको लागि बोल्नु पर्छ भन्ने मेरो पनि चाहना हो ।
महिला प्रमुख हुँदैमा हिंसा नियन्त्रण हुन्छ भन्ने हुँदैन । राष्ट्रपति हवाइ उत्थान कार्यक्रममार्फत सयौँ सुत्केरी महिलाहरूको ज्यान जोगिएको कुरा हामीले समाचार लेख्दै आएको छौँ । अब बलात्कारजस्तो जघन्य अपराध रोकथामको लागि राष्ट्रपतिज्यूले चाल्ने कदमहरूको बारेमा समाचार लेख्न मन छ ।
जनचेतनाका अभियानहरू चलाएका समाचार लेख्न मन छ । बलात्कारजस्तो जघन्य अपराध गर्ने अपराधीहरूलाई ढाकछोप नगरी सजाय दिएको हेर्न मन छ । त्यसका लागि राष्ट्रपतिज्यूले विभिन्न कदमहरू चालेको हेर्न मन छ । महिला र बालिका बलात्कार गर्नेहरूलाई कडाभन्दा कडा कानुन बनाएको हेर्न मन छ । र, अन्त्यमा म देशको प्रमुख राष्ट्रपतिलाई आग्रह गर्छु । जबरजस्ती करणी गर्ने अपराधीहरूलाई कडाभन्दा कडा कारबाही होस् । कुनै पनि महिला यस्ता समस्याबाट गुज्रिन नपरोस् ।
हामीले के गर्ने ?
बलात्कारमा परेका महिलाहरू खुलेर आफ्नो समस्या बताउन सक्दैनन् । के हामी उनीहरूको रक्षक बन्न सक्दैनौँ ? उनीहरूलाई न्याय दिलाउने अनुभूति दिन सक्दैनौँ ? उनीहरूलाई न्याय दिएर समाजमा हुने यस्ता जघन्य अपराधविरुद्ध बोल्न सिकाउन सक्दैनौँ ?
उनीहरूको जीवनमा आइपरेका कठिन अवस्था र यसले पारेको शारीरिक, भावनात्मक र मानसिक असर कम गर्न, उनीहरूलाई भित्रैदेखि बलियो बनाउन र आफूलाई माया गर्न सिकाउन सक्दैनौँ र ?
प्रहरीको तथ्याङ्क भन्छ : ‘नेपालमा दैनिक ६ जना बलात्कृत हुन्छन्’
–मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी १७ वर्षीया किशोरी बलात्कृत भइन्...
आइतबार, फाल्गुन १ २०७८यी सबै घटना यही समाजबाट सिर्जित हुन् । जबसम्म सिङ्गो समाज सजग, सचेत, जागरूक भई यस्ता घृणित, आपराधिक क्रियाकलापविरुद्ध जाग्दैन तबसम्म यस्ता घटना दोहोरिइरहन्छन् । तसर्थ हामी आफ्नो ठाउँमा कोसिस जारी राखौँ । मूकदर्शक मात्र बनेर नबसौँ ।
बलात्कार सम्बन्धी के छ नेपालमा कानुन ?
जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी हुने कैद सजाय :
(क) १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म ।
(ख) १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म ।
(ग) १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म ।
(घ) १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म ।
(ङ) १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म ।
(च) वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा
(१) पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म ।
(२) सामूहिक रूपमा जबरजस्ती करणी गरेमा वा ६ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा बलात्कारको सजायमा थप पाँच वर्षसम्म ।
(३) बाल यौन दुरुपयोग गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना ।
(छ) हाडनाता करणीमा फरक–फरक सजाय हुने:
(१) जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणीमा जन्मकैद ।
(२) सौतेनी आमा–छोरा वा बाबु–छोरी, सहोदर दिदी–भाइ वा दाजु–बहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना ।
(३) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठुलो बाबु वा काका–भतिजी, एकै हाँगाको भतिजो–ठुली आमा वा काकी, एकै हाँगाको ससुरा–भतिजी बुहारी, साक्खै मामा–भान्जी वा भानिज–माइजू, आमातर्फका ठुली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमतीतर्फकी सासू र ज्वाइँको करणी भएमा ३ वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म जरिवाना ।
(४) यी तीन अवस्थाबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगा, नाता र पुस्तासमेत विचार गरी १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना ।
(२०७५ साल १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिता)