‘नारी दिवस सप्ताह’ को सुन्दर उपलक्ष्यमा आदरणीय नारी शक्तिलाई हार्दिक नमन ।
आठ मार्चका दिन यसलाई विश्वव्यापी रूपमा नारीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको लागि मनाइने गरिन्छ । यस दिनले समाजमा नारीहरूको समानता बढाउनको लागि एउटा सङ्केत गर्ने गर्छ ।
अन्तर्राष्ट्रिय नारी दिवस (अर्थात् IWD) लाई मनाइने गरिएको एक शताब्दी भन्दा बढी भैसकेको छ । सन १९११ मा पहिलो अन्तर्राष्ट्रिय नारी दिवस भेला भएको बेला दश लाख भन्दा बढी मानिसहरूले समर्थन गरेका थिए । आज अन्तर्राष्ट्रिय नारी दिवसलाई विश्वका धेरै देशहरूमा मनाइने गरिन्छ ।
हाम्रो संस्कृतिमा महिलाको सम्मानलाई ठुलो महत्त्व दिइएको छ ।
“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:”
अर्थात् –
जुन कुलमा महिलाहरूको पूजा आराधना गरिन्छ त्यहाँ देवताहरूको बास हुन्छ र त्यो कुलमा ईश्वरीय सद्गुण भरिपूर्ण राम्रा बच्चाहरू जन्मिने गर्छन् र त्यस्तै गरी जुन कुलमा महिलाको कुनै पूजा आराधना हुँदैन, जान्नुहोस् कि उनीहरूका सबै कामहरू व्यर्थ छन् ।
त्यस्तै –
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
अर्थात् –
जननी (जन्म दिने आमा) र जन्म भूमि (आफू जन्मेको ठाउँ) स्वर्ग भन्दा पनि ठुलो हुन्छन् ।
तर वर्तमानमा देखा पर्ने परिस्थितिमा महिलाहरूलाई जताततै अपमान गरिएको छ । मानिस आफैँले नारीलाई मात्र एउटा ‘उपभोगको वस्तु’ को रूपमा विचार गरी आफ्नै तरिकाले प्रयोग गर्दैछ । यो ठुलो चिन्ताको विषय हो । तर हामीहरूले आफ्नो संस्कृतिलाई कायम राख्दै महिलाहरूलाई कसरी सम्मान गर्ने भनेर विचार गर्नु आवश्यक छ ।
आमालाई सधैँ सम्मान गर्नुपर्छ
पृथ्वीमा सबैभन्दा पवित्र रूपमा नारीको एउटा रूप हो – “आमा” । आमाको अर्थ हो जननी । आमालाई भगवान् भन्दा पनि बढी मानिन्छ, किनकि भगवानकी जन्मदात्री पनि एक नारी नै हुन् । हामी यसलाई माता देवकी (भगवान् कृष्णकी आमा) र माता पार्वती (भगवान् गणेश र कार्तिकेयकी आमा) को प्रसंगमा देख्न सक्छौँ । तर परिवर्तित समय अनुसार बच्चाहरूले आफ्नी आमाको महत्त्व घटाउँदै गइरहेका छन् । यो चिन्ताजनक पक्ष हो । सबै धन र स्वार्थको दौडमा निरर्थक दुगुरी रहेका छन् । तर जन्म दिने आमाको रूपमा नारीको सम्मान अनिवार्य रूपमा हुनुपर्दछ, जुन अहिले घटाइएको छ, यो प्रश्न आज यक्ष प्रश्न जस्तै फैलिंदैछ । नयाँ पुस्ताले यसको बारेमा आत्म परीक्षण गर्नुपर्दछ ।
केटीहरूले जित्दैछन्
यदि हामी आजका केटीहरूलाई हेर्छौँ भने, हामी पाउँछौँ कि यी केटीहरूले आजभोलि सबै क्षेत्रहरूमा जित्दै गइरहेकी छन् । विभिन्न परीक्षाहरूको मेरिट सूचीमा केटीहरू तेजीको साथमा अगाडि बढि रहेकी छिन् । एक समयमा उनीहरूलाई कमजोर ठानिन्थ्यो, तर उनीहरूले आफ्नो मेहनत र योग्यताको बलमा प्रत्येक क्षेत्रमा दक्षता प्राप्त गरेकी छिन् । हामीहरू सबैले उनीहरूको विलक्षण प्रतिभालाई सम्मान गर्नुपर्दछ ।
महिलाहरू काँधमा काँध मिलाएर हिँडिरहेकी छिन्
एक महिलाले आफ्नो सम्पूर्ण जीवन मानिससँग काँधमा काँध मिलाएर बिताएकी छे । उसको बाल्यकाल बुबाको छायामा बित्छ । बुबाको घरमा पनि उसले गृहकार्य गर्नुपर्दछ र पढाइ पनि निरन्तर गर्नु पर्छ । यो क्रम विवाह सम्म जारी रहन्छ । यस समयमा उनले घरका कामका साथै पढने-लेखने दोहोरो जिम्मेवारी वहन गर्नुपर्दछ, जबकि यसै समयमा केटाहरूको पढाई लेखाई बाहेक अरू कुनै काम हुँदैन । केही केटाहरू त राम्रो सँग पढाई पनि गर्दैनन्, जबकि उनीहरूसँग अरू कुनै काम हुँदैन । यस परिप्रेक्ष्यमा देखिन्छ, महिलाहरू सधैँ पुरुषहरूसँग काँधमा काँध मिलाउँछन्, यति मात्र होइन उनीहरू थप जिम्मेवारी पनि निर्वाह गर्छन् । नारीहरू यस कारणले गर्दा पनि सम्माननीय छन् ।
विवाह पछि
विवाह पछि त महिलाहरूमा अझ बढी गहन जिम्मेवारी आई पुग्छ र उनीहरूले त्यसलाई पनि सफलतापूर्वक वहन गर्दछन् । श्रीमान्, सासू-ससुरा, नन्द र देवरको सेवा गर्दा गर्दा, उनीहरू सँग आफ्नो लागि समय नै रहँदैन । बच्चा जन्मी सकेपछि तिनीहरूको जिम्मेवारी अझ बढी हुन्छ । एक आम महिलाको जीवन – घर परिवार, खेत, पाखा आदिमा कतिखेर समय बित्दै गयो थाहै हुँदैन । कैयौँ चोटि त उनीहरू परिवारको खातिर आफ्ना इच्छा र चाहनाहरू नै गलाउँछिन् । उनीहरू सँग यत्ति पनि समय हुँदैन कि उनी आफ्नो लागि बाँच्न सकुन् । परिवार प्रतिको उनीहरूको यो त्याग, तपस्या र बलिदानले उहाँहरूलाई उच्च सम्मानको अधिकारी बनाउँछ ।
बच्चाहरूमा संस्कार भर्ने
बच्चाहरूमा संस्कार भर्ने काम महिलाले आमाको रूपमा गरेकी हुन्छिन् । हामी सबैले बाल्यकालदेखि सुनिरहेका छौँ कि बच्चाहरूको पहिलो शिक्षक आमा हुन् । आमाको व्यक्तित्वले दुबैमा सकारात्मक र नकारात्मक प्रभाव पार्छ । आमाहरूको व्यक्तित्व विशाल र अनुपम छ । राम्रो मूल्य र मान्यताहरू दिएर, बच्चालाई समाजमा उदाहरणीय बनाउने काम केवल एक महिलाले मात्र गर्न सक्दछ । त्यस कारण, महिलाहरू सम्माननीय छिन् ।
अभद्रताको पराकाष्ठा
आजभोलि, अभद्रता र अश्लीलताको पराकाष्ठा महिलाहरूमा भइरहेको छ । हामी दैनिक समाचारपत्र र समाचार च्यानलमा पढ्छौँ र देख्छौँ कि महिलामाथि दुर्व्यवहार गरिएको थियो वा सामूहिक बलात्कार गरिएको थियो । यसलाई नैतिक पतन भनिनेछ । सायदै कुनै दिन होला, जब महिलाहरूमाथि अभद्रता गरिएको समाचार आउँदैन होला । यसको कारण के हो ? प्रिन्ट र इलेकट्रोनिक मिडियामा, अश्लील सामग्री दिन प्रतिदिन बढ्दै छ । मानसिक रूपले बिमार युवाहरूको दिमागमा यसले नराम्रो प्रभाव पार्छ । तिनीहरूले यसको कार्यान्वयनमा विचार गर्न थाल्छन् । नतिजा हुन्छ कन्चनपुर र बैतडीमा भएका बलात्कार र त्यसपछि हत्या जस्ता जघन्य र घृणास्पद अपराधहरू । नारीको सम्मान र उसको अस्मिताको रक्षाका लागि विचार गर्नु जरुरी छ र साथै उनको सम्मान र अस्मिताको रक्षा गर्न पनि धेरै महत्त्वपूर्ण छ ।
नारी सशक्तीकरण
महिला हिंसा अन्त्य गर्नका लागि पहिलो कुरा महिलालाई सचेत बनाउनु आवश्यक छ । शिक्षामा महिलाहरूको निकै कम मात्रामा पहुँच र सहभागिता भएको छ जुन निकै नै दुखद र दुर्भाग्यपूर्ण रहेको छ । विशेष गरी नेपाल जस्तो गरिब र विकासोन्मुख देशमा हालसम्म पनि महिला शिक्षालाई प्राथमिकता नदिनुलाई महिला शिक्षा र महिला सशक्तीकरणमा एउटा ठुलो अवरोध आउने छ । शिक्षाले मानिसको चेतनाको वृद्धि गर्दछ भने समाजमा महिलाको सहभागितालाई अझ सहयोग पुग्दछ । जब महिलाहरू शिक्षाको क्षेत्रमा सक्रिय रूपमा भाग लिन्छन्, तब तिनीहरूले शिक्षा प्रक्रियाको स्वामित्व आफैँ प्राप्त गर्दछन् । उनीहरू बच्चाहरूको शिक्षाको मामिलामा योगदान दिन सशक्त र विश्वस्त महसुस गर्दछन् ।
त्यसैले महात्मा गान्धीले भनेका थिए –
“यदि तिमीहरूले छोरालाई पढ़ाऊँछौ भने उसले आफूलाई मात्र शिक्षित गर्छ, तर यदि तिमीहरूले छोरीलाई पढ़ाऊँछौ भने उसले पूरा परिवारलाई शिक्षित गर्छ ।”
आशा छ, महिलाहरूको स्तर माथि उठाउनका लागि उनीहरूलाई चुलो चौकोमा मात्र सीमित नराखेर शिक्षित वातावरणमा जागरूक बनाउन तिर हामीहरू लाग्नेछौँ । छोरा-छोरी समान भने पनि अझै हाम्रो गाउँ समाजमा समान व्यवहार गराउन सकिएको छैन । छोरी भनेको अरूको भित्ता टाल्ने जात त हो नि भनेर छोरीलाई शिक्षाबाट वञ्चित गराउने काम भई रहेको छ । यो निकै दुःखद कुरा हो ।
अन्त्यमा …
यो आलेख पढ्ने सबैमा म यो निवेदन गर्न चाहन्छु कि हामी सबै प्रत्येक महिलाको सम्मान गरौँ । उपेक्षा, भ्रूणहत्या र महिलाको महत्त्व बुझ्न नसक्दा परिणाम स्वरूप महिलाको सङ्ख्या पुरुषको आधा पनि रहेको छैन । पुरुषले यो बिर्सनु हुँदैन कि कुनै महिलाले जन्माए पछि मात्र ऊ संसारमा अस्तित्वमा रहेको छ र यहाँ पुगेको छ । त्यसैले नारीको अपमान गर्नु ठिक हुँदैन । हाम्रो संस्कृतिमा महिलाहरूलाई देवी-देवता, दुर्गा र लक्ष्मी आदिको जस्तै सम्मान गरिएको छ, त्यसैले उनलाई उचित सम्मान दिइनु पर्दछ ।
अब अन्त्यमा नारीहरूको सम्मान प्रति स्वरचित एउटा कविताको मार्फत आफ्नो लेखलाई टुङ्ग्याउँछु ।
कविता को शीर्षक हो : “गर्व छ मलाई आफूमा, किनकि म नारी हुँ…!!”
माया, ममता र भावना की कोमल धुरी हूँ
कहिल्यै हार न मान्ने एक बहादुर छोरी हूँ
विश्वास र साहसले बेरिएकी रेसम की डोरी हूँ
आमा, सासू, भाउजू, पत्नी, बुहारी र छोरी हूँ
एक शरीरमा कैयौँ साइनोकी पैठारी हूँ
गर्व छ मलाई आफूमा, किनकि म नारी हू…!!
लाखौँ प्रतिबन्धमा कैद गरेर राखे पनि
पिँजडा तोडेर एक दिन फुर्र उडी जाने छु
टाढा आकाशमा आफ्नो स्थान बनाउन
रोक्न सक्ने छैन कसैले पनि मलाई
किनकि म स्वछन्द र स्वतन्त्र एउटा चरी हूँ
गर्व छ मलाई आफूमा, किनकि म नारी हू ……
परम्परावादीहरूले साँग्ला बाँधेका छन्
संसारका मानिसहरूले खुट्टा भाँचेका छन्
फेरी पनि म ती साँग्लाहरु भाँचेर
देखाइदिनेछु संसारलाई कि म एक
स्वाभिमानी बहादुर नेपाली छोरी हूँ
गर्व छ मलाई आफूमा, किनकि म नारी हूँ ……
म नै ऊष्मा, ऊर्जा, प्रकृति र पृथ्वी हूँ
म नै आधा संसार र पूरा नारी हूँ
यो जुनी दिएकोमा ईश्वर की आभारी हूँ
म नै नेपाल आमा की न्यानी राजकुमारी हूँ
गर्व छ मलाई आफूमा, किनकि म नारी हूँ ……
जय नारी दिवस
(लेखक सुर्खेतमा व्यावसायी तथा समाजसेवीको रुपमा क्रियाशील छन् । केटिएम दैनिकमा लेखक बडुवालले लेखेका धेरै लेख/कथाहरूले पाठकको मन जितेका छन् । )