
प्रियंका कार्की र आयुष्मान जोशीले आफ्नो छोरी आयंकाको अन्नप्राशन गरेका छन् । शनिबार छोरी पाँच महिना पुगेको अवसरमा यो दम्पत्तीले अन्नप्राशन (पास्नी) गरेका हुन् ।
शिशुको विकाससँगै शारीरिक पुष्टिका निम्ति आमाको दूधमात्रले पुग्दैन । अर्थात् शिशुलाई अन्नको आवश्यकता पर्ने गर्दछ । यसैले छोरीको पाँचौँ र छोराको छैटौं महिनामा अन्नप्राशन संस्कार गर्ने वैदिक विधि विधान छ ।
यसरी अन्न खुवाउन आरम्भ गर्ने वैदिक विधि र प्रक्रिया विशेषलाई नै अन्नप्राशन संस्कार भनिन्छ । शुभ समयमा गरिएको अन्नप्राशनले बच्चामा शारीरिक पुष्टि प्राप्त हुने गर्दछ ।
तन र मनलाई सुदढ बनाउनलाई अन्नको सर्वाधिक योगदान हुन्छ । शुद्ध सात्विक एवं पौष्टिक आहारले तन र मन दुवै स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । यसरी शारीरिक पुष्टिका निम्ति अन्नप्राशन गराइन्छ ।
पास्नीको तस्विर सामाजिक सञ्जालमा शेयर गर्दै नायिका कार्कीले लामो स्ट्याटस समेत लेखेकी छिन् । उनले आफूलाई आमा बन्ने अवसर दिएकोमा छोरीलाई धन्यवाद दिँदै यो पाँच महिना आफ्नो जिवनको सबैभन्दा महत्वपूर्ण समय भएको समेत बताएकी छिन् ।
आयंकालाई शुभकामना दिन फिल्म क्षेत्रका अधिकांश कलाकारहरू पुगेका थिए । ऋचा शर्मा, निशा अधिकारी, जेनिशा मोक्त्तानलगायतका कलाकारहरूले उनीहरूलाई शुभकामना दिएका थिए । प्रियंका र आयुष्मान दुबैको परिवारको साथमा मनाएको पास्नीमा प्रियंका आषुष्मान र आयंका रातो पहिरनमा सजिएका थिए ।
तस्विरहरू