चौधरी ग्रुपको सिजि नेटलेले सेवा सञ्चालन गरेको ६ महिनामै झण्डै नौं हजार ग्राहक बनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७८ मंसिरको एमआईएस रिपोर्ट अनुसार सिजि नेट ग्राहक सङ्ख्याको आधारमा १७ नम्बरमा परेको छ ।
२०७८ मंसिरसम्म सिजि नेटका ८ हजार ६३४ ग्राहक छन् ।
सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरेर चर्चामा आएको उक्त कम्पनीले विभिन्न अफरहरू पनि सार्वजनिक गरिरहेको छ ।
अहिले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरूमा सेवा दिइरहेको यस आइएसपीले चाँडै नै आफ्नो सेवा देशभर पुर्याउने सिजि नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले बताए ।
सिजि नेटले हाल ९ सय ९९ रुपैया प्रति महिनामा १२० एमविपिएसको उच्च गतिको इन्टरनेट र ६ सय ४९ रुपैया प्रति महिनामा पचास एमविपिएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ । न्युन शुल्कमा गुणस्तरिय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफुहरु रहेको कम्पनीले बताएको छ ।