काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि लागू भएको जोर बिजोर प्रणालीमा केही सुधार गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक सवारीमा यसअगाडि लाग्दै आएको जोर बिजोर प्रणालीमा आज मध्यरातदेखि फुकुवा गरिएको बताएको हो ।
नीजि सवारी (दुई पाङ्ग्रे र चारपाङ्ग्रे) साथै ट्याक्सीमा भने जोर बिजोर प्रणाली कायमै छ ।
प्रशासनले जारी गरेको आदेशमा बस, माइक्रोबस र टेम्पोमा जोर बिजोर हटाइएको छ । त्यस्तैगरी गरी औषधि एवम् स्वास्थ्य तथा सरसफाई सामाग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस वा पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोकेको सवारी साधनमा पनि जोर बिजोर लाग्दैन ।
खाद्यान्न पानी दुग्धजन्य पदार्थ फलपूल तरकारी अन्डा माछामासु पशुपंक्षीका दाना एवम् कृषि तथा पशुजन्य सामाग्री बोक्ने सवारी साधनमा पनि जोर बिजोर हटेको छ ।
त्यस्तैगरी परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारी, बैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर हटेको छ ।
सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनहरू निर्वाध रुपले चल्न पाउनेछन् ।
सार्वजनिक सवारीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सेनिटाइजरको व्यवस्था हुनुपर्ने साथै चालक र सहचालकले मास्क सहित फेस सिल्ड लगाउनुपर्ने नियम छ ।
दैनिक रुपमा सवारी साधनलाई निसङ्क्रमित गर्नुपर्ने पनि सूचनामा उल्लेख छ ।