मोरङको धनपालथान ७ बोर्डिङ टोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा फेला परेका धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ जग्गाको कारोबार गर्दै आएको व्यवसायी भएको खुलेको छ । उनी भक्तपुरको लोकन्थलीमा जेठानको घरमा बस्दै आएका थिए ।
उनको श्रीमती, २६, २५ वर्षीय दुई छोरा र ११ वर्षीय छोरी रहेका छन् । मृतक श्रेष्ठ व्यवहार मिलाउनु छ भन्दै मङ्सिर ४ गते धरान जान्छु भनेर घरबाट हिँडेको उनका दाजु चन्द्र श्रेष्ठले बताए । २५ वर्ष अगाडि धरानमा राजेन्द्रकुमारले सुन पसल खोलेका थिए । व्यापार राम्रो नभएपछि उनी जापान गए । जापानमा ८ वर्ष काम गरेपछि स्वदेश फर्किएर काठमाडौँमा इलेकट्रोनिक पसल खोलेका थिए ।
इलेकट्रोनिक पसलमा पनि व्यापार राम्रो नभएपछि साथीहरूसँग मिलेर जग्गाको कारोबारमा लागिको उनका दाजु चन्द्रबहादुरले बताए ।
‘भाइले जापानदेखि कमाएर ल्याएको पैसा साथीहरूसँग मिलेर जग्गाको कारोबार गर्न सुरु गरेको थियो । उसले झापामा पनि जग्गाको कारोबार गर्ने गरेको थियो । झापामा १८ बिघाको जग्गाको प्लटिङ लिएको थियो । व्यवहार मिलाउनु छ भन्दै ४ मंसिरमा भक्तपुरदेखि धरान जान्छु भनेर हिँडेको थियो,’ उनले भने, ‘भाइले मलाई पाटनरले पैसा खाइदियो । व्यवहार बिग्रिँदै गयो भन्दै गुनासो पोख्ने गर्दथ्यो ।’
भक्तपुरदेखि धरान जान्छु भनेर हिँडेको ४० दिन भएको थियो । ‘मङ्सिर पहिलो हप्ता म पनि धरान आएको थिए,’ दाजु चन्द्रले भने, ‘त्यस बेला भाइसँग भेट भएन । बहिनीको घर विराटनगरमा छ । भाइ बहिनीको आएको रहेछ । त्यस बेला बहिनीसँग पनि व्यवहार मिलाउन आएको भन्दै थियो रे बहिनीलाई । त्यस बेला बहिनीलाई विराटनगरको होटेलमा बस्छु भनेको रहेछ भाइ राजेन्द्रले । त्यस बेला राजेन्द्रसँग व्यवहार मिलाउनु भनेका भाइको साथीहरू मोहन लिम्बू र चौधरी थर भएका एक जना साथी पनि पूर्व जाने भनेर हिँडेका थिए’ दाजु चन्द्रबहादुरले भने, ‘अहिले भाइको शव उखुबारीमा भेटिएको दुःख खबरले मर्माहित भएको छु । भाइलाई हेर्न हामी अहिले विराटनगर आउने तयारी गरेका छौँ ।’
यस्तो थियो घटनास्थल
मोरङको धनपालथान ७ बोर्डिङ टोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा राजेन्द्रसहित अर्का एक जना पुरुषको शव बिहीबार फेला परेको छ । प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी रहेको छ ।
बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको हत्या गरेपछि ७ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ ।
बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधवार राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए ।
उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।
घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बिचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ ।